काठमाडौँ, मंसिर १ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले देशमा राजनीतिक दल दर्ताको अस्वाभाविक बढ्दो रफ्तारले राष्ट्रिय राजनीति कमजोर र अस्थिर बन्दै जाने चेतावनी दिनुभएको छ।
निर्वाचन आयोगमा दर्ता भइसकेका १ सय २३ राजनीतिक दल र दर्ता प्रक्रियामा रहेका थप ३२ दलको अवस्थालाई उहाँले ‘राजनीतिक फुटको चरम उदाहरण’ का रूपमा व्याख्या गर्नुभएको छ । मन्त्री पुनका अनुसार फुटेर होइन, मिलेर जाने प्रणालीले मात्र देशलाई स्थिरता र शक्ति दिन सक्छ। उहाँले भन्नुभएको छ, ‘हेर्नुहोस् १२३ दल दर्ता भइसके र ३२ दल दर्ता हुने प्रक्रियामा रे, यिनीहरूले आफूलाई पुर्ने खाल्डो आफै खन्दै छन्, संसारमा फुटेर होइन की आपसमा मिलेर र जुटेर मात्र शक्तिशाली भइन्छ, नेपालीहरू फुट्ने र सानोतिनो कुराहरूमा नमिलेर निर्वाचन आयोगमा धेरै भन्दा धेरै पार्टी दर्ता गर्ने होडबाजी चलिरहेको छ। ’
उहाँले सानोतिनो विषयमा पनि सहमति खोज्ने संस्कृतिको विकास नभएकै कारण दल दर्ता गर्ने होडबाजी बढेको उल्लेख गर्नुभएको छ। यस्तो प्रवृत्ति रोकिएन भने फेरि वृद्ध नेताहरूको संरक्षणमा रहेका जाली–फटाहा समूहको शासन फर्कने जोखिम रहेको उहाँको तर्क छ।
मन्त्री पुनले जेन–जी आन्दोलनले अघि सारेको परिवर्तनको लक्ष्य पनि यसै प्रकारको राजनीतिक व्यवहारले कमजोर पार्न सक्ने चेतावनी दिनुभएकाे छ। उहाँले हालको मन्त्रिपरिषद्ले अघि बढाइरहेका सकारात्मक निर्णयहरू पनि पुरानै राजनीतिक शक्तिहरू पुनः सत्ता प्राप्त भएमा उल्टिन सक्ने उल्लेख गर्नुभएको छ ।
उहाँका अनुसार राजनीतिक स्थिरता, सहमति र संयोजनलाई प्राथमिकतामा राखेर मात्र समग्र सुधारका प्रयासहरू सफल बन्न सक्ने छन्।













प्रतिक्रिया दिनुहोस्