जनता टाइम्स

१ मंसिर २०८२, सोमबार १३:१२

एमालेकाे आउने महाधिवेशनबाट केपी ओली सर्वसम्मत अध्यक्ष बन्नुहुन्छ : खगराज अधिकारी 


काठमाडौं, मंसिर १ । नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले नकपा एमाले गतिशील पार्टी भएको बताउनुभएको ५ ।

जनकपुर विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै अधिकारीले एमालेलाई अझ गतिशील बनाउनु आवश्यक रहेको बताउनुभयो। उहाँले पार्टीको नेतृत्व पुनर्गठित गर्ने र नवताजगी दिने काम महाधिवेशनले गर्ने बताउनुभयो ।

पार्टी बलियो बनाउन अझै केपी ओलीकै नेतृत्व आवश्यक रहेको बताउँदै अधिकारीले आउने महाधिवेशनबाट केपी ओली सर्वसम्मत अध्यक्ष बन्ने दाबी गर्नुभयो । ‘अन्य नेतृत्व परिवर्तन हुन्छ, अध्यक्ष सर्वसम्मत रूपमा केपी ओली नै हुनुहुन्छ’, उहाँले भन्नुभयो ।

अधिकारीले गतिका आधारमा सम्बन्धहरू हुने बताउँदै ती सबै स्थायी नहुने प्रष्ट पार्नुभयो । राजनीतिक सम्बन्ध पनि त्यस्तै भएको बताउँदै उहाँले जनताका हित र राष्ट्रियताको मुद्दा प्रमुख हुने स्पष्ट पार्नुभयो ।

उहाँले मधेस प्रदेशको हालको सरकार नियमित प्रक्रिया अन्तर्गत गठन भएको बताउनुभयो । ‘बहुमतको सरकार बन्न नसकेपछि सबैभन्दा ठुलो दलको नाताले एमाले संसदीय दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री बनाउनु भयो, यसमा विवाद गर्नुको कुनै कारण छैन’, उहाँले भन्नुभयो।

अधिकारीले मधेसका नेताहरूलाई राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्न आग्रह गर्नुभयो । ‘क्षणिक सत्ता स्वार्थका लागि मधेसमा विभाजन हुनु हुँदैन, संघीयताको कार्यान्वयनका लागि मधेस बलियो हुनुपर्छ र मधेसले संघीयतालाई बलशाली बनाउनु पर्छ’, उहाँले भन्नुभयो ।

संघमा वर्तमान सरकारलाई हटाएर प्रतिनिधि सभा पुनर्स्थापना गरी संविधान संशोधन गरेर छोटो समयको लागि संसद् बाहिरबाट पनि प्रधानमन्त्री बनाउने व्यवस्था संविधानसम्मत ढङ्गले अघि बढाउन सकिने उहाँको धारणा छ। ‘यदि कसैलाई ग्यारेन्टी चाहिएको हो भने हाम्रो पार्टी अध्यक्ष केपी ओली पुनर्स्थापित हुने सांसदबाट प्रधानमन्त्री बन्नुहुन्न भन्ने ग्यारेन्टी हामी दिन सक्छौँ’, उहाँले भन्नुभयो ।

अधिकारीले गैरदलीय सरकार र निर्वाचन प्रक्रियामा उठेका प्रश्नहरूमा पनि टिप्पणी गर्नुभयो। उहाँले भन्नुभयो, ‘सुशीला कार्कीले यो गैरदलीय सरकार हो भन्नु भएको थियो, उहाँका मन्त्री कूलमान घिसिङले पार्टी नै दर्ता गरिसक्नु भएको छ, यस्ता मानिस राखेर यो सरकार कसरी चल्छ र कसरी निर्वाचन गराउँछ? कब्जावादी चिन्तनले हुने निर्वाचन लोकतान्त्रिक हुन सक्दैन, यो सरकारले चुनाव गराउन सक्दैन, यसकारण चुनावको कुरा गर्नु व्यर्थ हुन्छ’, उहाँले भन्नुभयो ।

उहाँले मधेसमा सहकारी क्षेत्रको सुधार र जागरण आवश्यक रहेको बताउनुभयो । ‘अहिले सहकारी माथि प्रश्न उठेका छन्, सहकारीलाई सुद्ध, जनप्रेमी र उत्पादनमुखी बनाउनु पर्छ भन्ने उद्देश्य लिएर म मधेसमा आएको हुँ’, उहाँले भन्नुभयो ।