जनता टाइम्स

१ मंसिर २०८२, सोमबार १४:५४

पत्रकार महासंघको सल्लाहकार नियुक्ति विधानसम्मत हुनुपर्ने पूर्व र निवर्तमान अध्यक्षकाे धारणा 


काठमाडौं, मंसिर १ । नेपाल पत्रकार महासंघको सल्लाहकार नियुक्ति र त्यससँग सम्बन्धित विवादले संघ भित्र अस्थिरता पैदा भइरहेको बेला निवर्तमान पूर्वअध्यक्षहरुले सल्लाहकारको नियुक्ति विधानसम्मत हुनुपर्ने धारणा सार्वजनिक गर्नु भएको छ ।

पूर्वकार्यवाहक अध्यक्ष बाला शर्मालाई सल्लाहकारमा नियुक्त गर्नु पर्ने माग राख्दै महासचिव रामप्रसाद दाहालको नेतृत्वमा युनियन आवद्ध केही सदस्यहरूले अडान लिँदा कात्तिक २९ का लागि बोलाइएको केन्द्रीय समिति बैठक बस्न नसकी स्थगित भएको थियो।

उक्त विषयलाई लिएर युनियनबाट केन्द्रीय सदस्य बनेका लबदेव ढुङ्गानाले आज अध्यक्ष निर्मला शर्माको कार्यकक्षमा ताला लगाएका थिए। तर केही समयपछि केन्द्रीय सदस्य रामेश्वर कार्कीले सो ताला फुटाइदिनु भएको छ ।

सो विषयलाई लिएर विवाद बढेपछि पत्रमार्फत संगठनका पूर्वअध्यक्ष गोविन्द आचार्य, विपुल पोखरेल र  हालकी अध्यक्ष निर्मला शर्माका निकटतम प्रतिस्पर्धी रमेश विष्टले सो विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । पत्रमा महासंघको विधानले प्रष्ट व्यवस्था गरेको पदेन सल्लाहकारको विषयमा भइरहेको टीकाटिप्पणी गलत भएको उल्लेख छ । विधानले पूर्वअध्यक्ष, निवर्तमान अध्यक्ष र निकटतम प्रतिस्पर्धी सल्लाहकार हुने व्यवस्था छ । सो व्यवस्था अनुसार उहाँहरू तीन जना मात्र सल्लाहकार हुनुहुन्छ ।

देश निर्वाचनको बाटोमा अघि बढिरहेको अवस्थामा यो निर्वाचन स्वच्छ, स्वतन्त्र र निर्भीक वातावरणमा सम्पन्न गराउन महासंघले आफ्नो भूमिका निर्वाह गर्न जरुरी रहेको प्रति उहाँहरूले ध्यानाकर्षण गराउनुभएको छ । महासंघले विगतको गौरवमय इतिहास र निर्वाह गरेको दायित्व सम्झँदै समकालीन दायित्व पहिचान गरी भूमिका निभाउने बाटोमा अग्रसर रहनुपर्ने धारणा उहाँहरूले राख्नु भएको छ।

त्यसै गरी, नेपाल पत्रकार महासंघले नागरिक संस्था र प्रेस स्वतन्त्रतासम्बन्धी जिम्मेवारी निभाउँदै लोकतन्त्रको रक्षा, संविधानको पालना र नागरिक अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ। महासंघको सांगठनिक जीवनमा देखिएका समस्या संवादमार्फत विधिसम्मत निरूपण गरिने र सल्लाहकारका विषयमा विधानको दफा १६(९) अनुसार निर्णय लिने व्यवस्था रहेको पनि पत्रमा स्पष्ट गरिएको छ।

पत्रले महासंघले सांगठनिक तथा नीतिगत योगदान दिने व्यक्तिहरूको सम्मान र कदर गर्न सक्ने अधिकार राख्ने र विधानको परिधिमा निर्णय लिनु संस्थाको हितमा हुने बताएको छ। पत्रमा भनिएको छ, “पत्रकार महासंघको बृहत् हितका लागि हाम्रो तर्फबाट हुने सहयोग, सहभागिता र सक्रियताका लागि हामी सिङ्गो कार्यसमितिसँगै रहनेछौँ।”