काठमाडौँ, मंसिर २। राजावादी अभियन्ताका रुपमा चिनिनु भएका दुर्गा प्रसाईँ गएकाे मध्यराति पक्राउ परेपछि राजधानीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले भक्तपुरस्थित उहाँको निवासबाट प्रसाईँलाई पक्राउ गरेपछि रातिदेखि नै सुरक्षा सतर्कता बढाएकाे हाे ।
प्रहरीका अनुसार हिजाे पत्रकार सम्मेलनमार्फत हिंसा भड्कने प्रकृतिका अभिव्यक्ति दिनु भएको भन्दै प्रसाईँलाई पक्राउ गरिएको हो। गत चैत १५ मा भएको हिंसात्मक आन्दोलनपछि पक्राउ पर्नुभएका प्रसाईँ अदालतको आदेशमा छुट्नुभएको थियो। त्यसयता उहाँ राजावादी गतिविधि तथा बैङ्कबाट लिएको ऋण मिनाहा हुनुपर्ने मागसहित विभिन्न आन्दोलनमा सक्रिय रहनुभएको थियो।
प्रसाईँले मंसिर ७ गतेबाट नयाँ आन्दोलन सुरु गर्ने तयारी गर्नुभएको थियाे। उहाँले ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियान’ नामक ब्यानरमार्फत राजनीतिक गतिविधि गर्दै आउनुभएको थियो।
उहाँका समर्थकहरूले मंगलबार बिहानदेखि नै पक्राउविरुद्ध प्रदर्शनमा उत्रन सक्ने अनुमान प्रहरीले गरेको छ। सम्भावित विरोधलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाभरि सुरक्षा सतर्कता थप कडा पारिएको प्रहरी स्रोतले बताएको छ।














प्रतिक्रिया दिनुहोस्