काठमाडौँ, मंसिर २। नेकपा एमालेका उपमहासचिव तथा जिफन्टका संरक्षक विष्णु रिमालले संगठन र पार्टीलाई सङ्कट पर्दा सबैभन्दा धेरै असर मजदुरले भोग्नुपर्ने बताउनु भएको छ।

मजदुर नेता कमल गौतमको स्मृतिमा बुटवलमा साेमबार आयोजित श्रद्धाञ्जली सभामा बोल्दै उहाँले जहाँ पार्टी, संगठन र मजदुरलाई समस्या पर्छ, त्यहाँ कमल गौतम उपस्थित भएर समाधान खोज्ने नेता रहेको स्मरण गर्नुभयो। उहाँले गौतमलाई आन्दोलनको पर्यायवाची नेता भनेर सम्मानपूर्वक उल्लेख गर्नुभयो।
जीवनभर मजदुर संगठन र पार्टीमा सक्रिय रहनुभएका गौतमको जनप्रतिनिधि बन्ने चाहना पूरा हुन नसकेकोमा गहिरो पीडा रहेको रिमालले बताउनुभयो। उहाँले भन्नुभयो, ‘मेरो लामो समयका सहकर्मी, सहयात्री गुमाउनुको पीडा त छदैँछ, तर उहाँले एकपटक जनप्रतिनिधि बन्ने धोको व्यक्त गर्नुभएको थियो, मैले अझै उमेर बाँकी छ भनेर रोकेँ, त्यो धोको पूरा गर्न नसकिएकोमा आज पनि मन भारी हुन्छ, उहाँ कहिल्यै स्वार्थका लागि काम गर्नुभएन।’
रिमालका अनुसार मजदुर संगठनलाई आकर्षक र प्रभावकारी बनाउन गौतमको योगदान उल्लेख्य रह्यो। रिक्सा चालक मजदुरलाई संगठित गर्न उहाँले गरेको मेहनत र असंगठित मजदुरको क्षेत्रमा स्थापना गर्नुभएको बलियो आधार मजदुर आन्दोलनका लागि महत्वपूर्ण रहेको रिमालले जनाउनुभयो।
उहाँका अनुसार गौतमले स्वदेशमै होइन, विदेशका कार्यक्रमहरूमा सहभागी हुँदा पनि त्यहाँका राजदूत तथा सरोकारवालासँग मजदुरका समस्या उठाउने, छलफल गराउने र समाधान खोज्ने कार्य निरन्तर गर्नुभएको थियो ।












प्रतिक्रिया दिनुहोस्