रामेछाप, मंसिर २। रामेछापको मन्थली नगरपालिका–१४ साजेटोलकी ७२ वर्षीया भिमा लक्ष्मी खड्काको धारिलो हतियार प्रहार गरी हत्या भएको छ।
आफ्नै गाउँ बस्ने २६ वर्षीय दिलीप खड्काले हत्या गरी फरार भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। गएको राति करिब साढे १० बजे घटना भएकोमा साढे १२ बजे मात्र प्रहरीलाई जानकारी आएको थियो। सूचना प्राप्त भएपछि प्रहरी चौकी फुलासीबाट प्रहरी सहायक निरीक्षक मानबहादुर तामाङको नेतृत्वमा टोली घटनास्थलतर्फ गएकाे थियाे भने जिल्ला प्रहरी कार्यालयबाट मंगलबार बिहान घटनास्थल पुगेकाे प्रहरीले आवश्यक मुचुल्का संकलन गरी मृतकको शव पोस्टमार्टमका लागि मन्थली अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले जानकारी दिनुभयो।
उहाँका अनुसार भिमा लक्ष्मी खड्का घरमा एक्लै बस्दै आउनु भएको थियो। धारिलो हतियार प्रहार गरी हत्या गर्ने दिलीप घटनापछि फरार रहेका छन्। फरार व्यक्ति यसअघि पनि अभद्र व्यवहार र चोरी मुद्दामा पक्राउ परी छुटेका थिए भन्ने प्रहरीको भनाइ छ। उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ। घटना किन भयाे भन्ने खुलेकाे छैन ।
स्थानीयका अनुसार हत्या भएको करिब एक घण्टापछि, राति करिब ११ बजे, दिलीप रगतले लतपतिएको अवस्थामा गाउँमै ‘मैले हानेँ, सिद्ध्याएँ’ भन्दै हिँडिरहेका थिए। साेही सूचनाका आधारमा स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए।
प्रहरी निरीक्षक तिम्सिनाका अनुसार प्रहरी तुरुन्तै खटिए पनि प्रहरी चौकी फुलासीबाट करिब ५ किलोमिटर दूरीमा पर्ने घटनास्थलमा रातिको समय र भौगोलिक जटिलताका कारण पुग्न केही ढिलाइ भएको थियो।













प्रतिक्रिया दिनुहोस्