रामेछाप, मंसिर २ । रामेछापको मन्थली नगरपालिका–१४ साजेटोलस्थित ७२ वर्षीया भिमालक्ष्मी खड्काको धारिलो हतियार प्रहार गरी हत्या गरेर फरार भएका युवकलाई प्रहरीले पक्राउ गरेको छ।
गतराति करिब साढे १० बजे स्थानीय २६ वर्षीय दिलीप खड्काले धारिलो हतियार प्रहार गरी वृद्धा खड्काको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको थियो। घटना भएको करिब दुई घण्टापछि राति साढे १२ बजेतिर मात्र प्रहरीलाई खबर पुगेको प्रहरीले बताएको छ।
त्यस पछि प्रहरी चौकी फुलासीबाट प्रहरी सहायक निरीक्षक मानबहादुर तामाङको नेतृत्वमा टोली घटनास्थलकतर्फ खटिएको थियो। जिल्ला प्रहरी कार्यालयबाट गएको थप टोलीले बिहान पुगेर मुचुल्का सङ्कलन तथा प्रारम्भिक अनुसन्धान गरेको थियो।
परिवारजनका अनुसार मृतक भिमालक्ष्मी खड्का एक्लै बस्दै आउनुभएको थियो। हत्यापछि फरार रहेका आरोपी दिलीप विगतमा अभद्र व्यवहार र चोरी मुद्दामा पक्राउ परी छुटेका व्यक्ति रहेको प्रहरीले जनाएको छ।
स्थानीयका भनाइअनुसार घटना भएको करिब एक घण्टापछि दिलीप रगतले लतपतिएको अवस्थामा गाउँमै ‘मैले हानेँ, सिद्ध्याएँ’ भन्दै हिँडिरहेका देखिएका थिए। सो दृश्य देखेपछि स्थानीयले नै प्रहरीलाई खबर गरेका हुन्। रातिको समय, दूरी र भौगोलिक जटिलताका कारण घटनास्थलमा प्रहरी पुग्न केही ढिलाइ भएको थियो। जसकार कारण आरोपी भागेका थिए ।
यसैबिच, फरार अभियुक्तलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख, प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिनुभएको छ । उहाँका अनुसार खड्कालाई दोलखाको मेलुङ क्षेत्रबाट जंगलमा लुकेर बसेकाे अवस्थामा पक्राउ गरिएको हो।उनका साथबाट सुनका रिङ, ढुङ्ग्री लगायतका सामग्री पनि प्रहरीले बरामद गरेको छ ।
मृतक खड्काको शव मन्थली अस्पतालमा पाेष्टमार्टम गरिएको छ । पक्राउ परेका अभियुक्तमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्