जनता टाइम्स

३ मंसिर २०८२, बुधबार ११:३७

अंशबण्डा विवादले शान्ताको अचार खरानी, एकजना पक्राउ


काठमाडौं, मंसिर ३। नेकपा एमालेकी नेतृ शान्ता चौधरीको सुर्खेतको वीरेन्द्रनगरस्थित अचार पसलमा आगजनी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

चाैधरीको वीरेन्द्रनगर–६ सुपरमार्केटस्थित अचार पसलमा कार्तिक ३० गते बिहान करिब साढे ४ बजे आगजनी भएको थियो । पहिले शान्ताको पलससँगै रहेको बेबीशपमा लागेको आगो पछि शान्ताको पसलमा सल्किएको थियो ।

प्रहरी अनुसन्धानबाट बेबी शप सञ्चालकका देवरले पसलमा आगो लगाएको खुलेको छ । पसलमा आगो लगाएको आरोपी दीपक कँडेललाई प्रहरीले पक्राउ गरिसकेको छ ।

सुर्खेत प्रहरीका प्रवक्ता डिएसपी मोहोन बुढाका अनुसार बेबी शप सञ्चालक र पक्राउ परेका कँडेलबीच अंशबण्डा विवाद थियो । सोही विवादका कारण दीपकले भाउजुको पसलमा आगो लगाएको बयान दिएका छन् ।

अर्काको पसलबाट सल्किएको आगोले शान्ताको अचार पसलमा ३० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।