काठमाडौं, मंसिर ३ । नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले देशमा तमासा गरिहरेको बताउनुभएको छ ।
बुधबार नेकपा एमाले स्थानीय विकास विभागको आयोजनामा च्यासलमा भएको स्थानीय तहका जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले राजनीतिक दलालाई जेनजीका नाममा आफ्ना कार्यक्रममा जान समेत रोकेर सरकारले तमासा गरेको बताउनुभयो । उहाँले देशमा अभिव्यक्ति स्वतन्त्रता समेत खोसिएको टिप्पणी गर्दै त्यसको उदाहरण आज बारामा भएका घटनाको उदाहरण दिनुभयो ।
एमालेको बारमा आयोजित युवा भेलामा जान लागेका एमालेका नेताहरूलाई बारामा जेनजीका नाममा अपराधीहरूले विमान नै जान नदिएको घटनाको स्मरण गराउँदै उहाँले देश कता जाँदै छ ? भन्ने प्रश्न गर्नुभयो । ‘सभा गर्न नदिनेले चुनाव कसरी गर्छ ?’, उहाँले प्रश्न गर्नुभयो ।
उहाँले एमाले माथि आक्रमण हुँदा भागेर हिँड्ने होइन फरक्क फर्किएर जवाफ दिन निर्देशन दिनुभयो । ‘एमाले भाग्दैन, यही देशमा बस्छ’, ओलीले भन्नुभयो ।
अहिले पनि अपराधीहरूले जेनजीका नाममा धम्क्याउने र थर्काउने काम गरिरहेका उहाँले बताउनुभयो । देशमा अपराध मौलाएको बताउँदै उहाँले उनीहरूको आडमा बनेको यो सरकार हटाएर प्रतिनिधि सभा पुनर्स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।
देश र जनताको सुरक्षाको लागि नेकपा एमालेले अब राष्ट्रिय यूथ सुरक्षा फोर्स गठन गर्न लागेको उहाँले बताउनुभयो । सो फोर्सले राष्ट्रिय सम्पत्ति र जनताको जिउधनको रक्षा गर्ने ओलीले स्पष्ट पार्नुभयो ।













प्रतिक्रिया दिनुहोस्