जनता टाइम्स

३ मंसिर २०८२, बुधबार २१:२२

उमाकुण्डको बाम्ती भण्डारमा एकीकृत घुम्ती सेवा शिविर सम्पन्न, एकै ठाउँबाट सरकारी सेवा 


रामेछाप, मंसिर ३ । उमाकुण्ड गाउँपालिका–२ बाम्ती भण्डारामा आयोजित एकीकृत घुम्ती सेवा शिविर सम्पन्न भएको छ। स्थानीयवासीको लागि आवश्यक प्रशासनिक, कानुनी, पशु स्वास्थ्य तथा व्यवसायसम्बन्धी सेवाहरू एउटै स्थानबाट उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।

शिविरमा नेपाली नागरिकता प्रमाणपत्रका लागि नयाँ ४० जनाले सेवा लिएका छन् भने प्रतिलिपि नागरिकताका ३० गरी जम्मा ७० वटा प्रमाणपत्र सम्बन्धी प्रक्रिया सम्पन्न गरिएको थियो।

त्यस्तै राष्ट्रिय परिचयपत्र सेवाअन्तर्गत ६२ जनाको बायोमेट्रिक सङ्कलन गरिएको छ भने ५ जनालाई राष्ट्रिय परिचयपत्र कार्ड वितरण गरिएको छ।

स्थानीय योजनासम्बन्धी प्रक्रियामा ५ वटा योजना सम्झौता गरिएको छ । व्यवसाय व्यवस्थापन सेवामा ८ व्यवसाय नवीकरण तथा ३ वटा नयाँ व्यवसाय इजाजतपत्र जारी गरिएको गाउँपालिका प्रशासनले जानकारी दिएको छ।

पशुपालनमा आधारित परिवारलाई लक्षित गर्दै सञ्चालन गरिएको पशु स्वास्थ्य शिविरमा १ सय १६ घरधुरीका करिब १ हजार ४ सय ९६ वटा पशुलाई औषधि वितरण गरिएको छ। साथै १० वटा कुकुरलाई रेबिज  विरुद्धको खोप  लगाइएको छ । जसले स्थानीय स्तरमा जनावर–जन्य रोग नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

राजश्व सङ्कलनतर्फ शिविरमा जम्मा २७ हजार ९ सय रूपैँया सङ्कलन भएको गाउँपालिकाले जनाएको छ।

उमाकुण्ड गाउँपालिकाले स्थानीय सेवालाई झन् सहज, पहुँचयोग्य र प्रभावकारी बनाउने उद्देश्यले घुम्ती शिविरलाई निरन्तरता दिइरहेको छ। भोलि मंसिर ४ गते यस श्रृंखला अन्तर्गत अर्को शिविर उमाकुण्ड–३ वडा कार्यालयमा सञ्चालन हुने कार्यक्रम छ। गाउँपालिकाका सबै वडामा शिविर सञ्चालन हुने गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले जानकारी दिनुभयो ।