जनता टाइम्स

४ मंसिर २०८२, बिहीबार १२:१९

रास्वपाको केन्द्रीय समितिको बैठकले गर्याे नौ बुँदे निर्णय 


काठमाडौं, मंसिर ३। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको बैठकले आगामी प्रतिनिधि सभा निर्वाचन, संगठन विस्तार, नीति–कार्यक्रम परिमार्जन र युवा लक्षित प्रशिक्षणसम्बन्धी विभिन्न नौ बुँदे निर्णय गरेको छ।

बैठकले समसामयिक राजनीतिक परिस्थितिबारे विस्तृत छलफल गर्दै जेन–जी पुस्ताले हालै गरेको निर्णायक हस्तक्षेपपछि उत्पन्न परिवर्तित राजनीतिक वातावरणलाई संस्थागत गर्न सुसंस्कृत र परिवर्तनगामी राजनीतिक शक्तिसँग मुद्दागत तथा सांगठनिक सहकार्यका विकल्पहरू खोज्दै संवाद अभ्यासलाई थप मजबुत बनाउने निष्कर्ष निकालेको छ। त्यसका लागि उपसभापति डा. स्वर्णिम वाग्ले संयोजक रहेको उच्च संवाद समितिलाई सक्रिय भूमिका निर्वाह गर्न निर्देशन गरिएको प्रवक्ता मनिष झाले जानकारी दिनुभयाे। बैठकमा पार्टी सभापति रवि लामिछानेमाथि अघिल्लो सरकारले लगाएका मुद्दाको कानुनी अवस्थाबारे पनि जानकारी गराइएको थियो।

बैठकले हालै सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा गर्दै व्यवस्थापनदेखि एजेन्डा तयारीसम्मका सुझावहरूको आगामी दिनमा कार्यान्वयन गरिने जनाएको छ। चितवनमा सम्पन्न विस्तारित बैठकमा सहयोग पुर्याएका प्रतिनिधि, स्वयंसेवक, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा आतिथ्यका लागि चितवनवासीप्रति बैठकले धन्यवाद प्रकट गरेको छ।

बैठकले कार्यवाहक सभापति डोलप्रसाद अर्यालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महामन्त्री कविन्द्र बुर्लाकोटीले पेश गरेको संगठनात्मक प्रतिवेदन तथा सहमहामन्त्री विपिनकुमार आचार्यले प्रस्तुत गरेको उम्मेदवार छनोटसम्बन्धी प्रतिवेदन सुझावसहित पारित गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ का लागि उम्मेदवा छनोट रूपरेखा मस्यौदा तयारीमा नेतृत्व प्रदान गरेका सहमहामन्त्री विपिनकुमार आचार्यलाई अब उम्मेदवार छनोट समितिको संयोजकका रूपमा जिम्मेवारी तोकिएको छ। समितिमा सचिवालय सदस्य विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्य डा. चन्दा कार्की र राजन गौतम (चितवन) तथा प्रदेश सभापतिहरू पदेन सदस्य रहनेछन्। रुपन्देही–३ का लागि भने पहिले नै चयन भइसकेका उम्मेदवारलाई यथावत राखिने भएको छ।

वाचापत्र (म्यानिफेस्टो) तयारीमा केन्द्रीय सदस्य क्रान्तिशिखा धिताललाई समावेश गर्ने निर्णय गर्दै बैठकले संविधान परिमार्जन कार्यदलको नाम परिमार्जन गरी ‘संविधान तथा संविधान–सम्बद्ध कानुन परिमार्जन कार्यदल’ राख्ने र सो कार्यदलको संयोजकमा केन्द्रीय सदस्य सोविता गौतमलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ।

यस्तै, निर्वाचन लक्षित तीन छुट्टाछुट्टै कार्यदल गठन गरिएको छ। राजनीति अध्ययन कार्यदलको संयोजकमा विराजभक्त श्रेष्ठ, निर्वाचन रणनीति कार्यदलको संयोजकमा मनिष झा र मिडिया अध्ययन कार्यदलको संयोजकमा निशा डाँगीलाई तोकिएको छ। साथै युवा पुस्ताको राजनीतिक सक्रियता र नेतृत्व विकासलाई संबोधन गर्ने उद्देश्यले ‘Youth Nation-Building Academy’ संचालन गर्ने निर्णय भएको छ। यस कार्यक्रम केन्द्रीय कानुन तथा मानवअधिकार विभागको नेतृत्वमा, प्रशिक्षण तथा नेतृत्व विकास विभागसँगको समन्वयमा सञ्चालन गरिनेछ, जसको समग्र संयोजन सोविता गौतमले गर्नेछिन्।

बैठकले सबै प्रदेश र जिल्लामा निर्वाचन लक्षित विस्तारित बैठक गर्ने, रिक्त पदहरू समावेशिताको सिद्धान्तअनुसार पूर्ति गर्न निर्देशन दिने तथा जेन–जी उमेर समूहसँग सातै प्रदेश र ७७ जिल्लामा छलफल/संवाद कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ। पार्टी संयन्त्रका सबै तहमा युवाको सहभागिता बढाउन आवश्यक गृहकार्य अघि बढाउने बैठकको निष्कर्ष छ।