काठमाडौं, मंसिर ४। बाराको सिमरामा हिजोदेखि जारी तनाव र हिंसात्मक गतिविधिप्रति नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गम्भीर ध्यानाकर्षण भएको बताउँदै सबै पक्षलाई उच्च संयमता अपनाउन आग्रह गर्नुभएको छ।
राजनीतिक तथा वैचारिक भिन्नता लोकतन्त्रको स्वाभाविक विशेषता भए पनि त्यसलाई हिंसा वा उत्तेजनामा परिणत गर्नु लोकतान्त्रिक संस्कृतिको विरुद्ध रहेको उहाँको धारणा छ। ‘लोकतन्त्रमा राजनीतिक तथा वैचारिक मतभिन्नता स्वाभाविक हुन्छ तर त्यसलाई हिंसा वा उत्तेजनामा रूपान्तरण गर्नु लोकतान्त्रिक संस्कृति होइन, त्यसैले राजनीतिक तथा वाक–स्वतन्त्रताको सम्मान गर्दै राजनीतिक दल र दलका नेताहरूलाई निर्वाधरूपमा हिड्डुल गर्ने, सभा-सम्मेलन गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउँदछु, घोषित निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन कुनै पनि घटनाले नकारात्मक प्रभाव नपारोस् भन्ने विषयमा समेत सचेत र जिम्मेवार बन्न सबै पक्षसँग आग्रह गर्दछु,’ उहाँले उल्लेख गर्नुभएको छ।
घोषित निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष तवरले सम्पन्न गर्न कुनै पनि घटनाले नकारात्मक असर पार्न नहुने बताउँदै प्रचण्डले सबै पक्षलाई जिम्मेवार र सचेत रहन अनुरोध गर्नुभएको छ।
उहाँले स्थानीय पार्टी समितिहरूलाई समेत परिस्थितिलाई सामान्य बनाउन आवश्यक सहजीकरणको भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको छ।













प्रतिक्रिया दिनुहोस्