ललितपुर, मंसिर २१ । नेपाल पर्यटन केन्द्रीय सहकारी संघको १२औँ वार्षिक साधारण सभा २०८२ मंसिर २० गते शनिबार सम्पन्न भएको छ। ललितपुर जिल्ला सहकारी संघको सभा हल, महालक्ष्मी स्थानमा आयोजित साधारण सभा संघका अध्यक्ष चन्द्रप्रसाद रिजालकाे अध्यक्षयतामा भएको हो ।
साधारण सभामा वाग्मती प्रदेशका पूर्व पर्यटन तथा उद्योग मन्त्री तथा प्रदेश सभा सदस्य प्रेमभक्त महर्जनको प्रमुख आतिथ्यता रहेको थियो । राष्ट्रिय सहकारी महासंघका सञ्चालक टेकप्रसाद चौलागाईं, वाग्मती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष राजेन्द्रप्रसाद सापकोटा, संघका संस्थापक उपाध्यक्ष मुकुन्दप्रसाद दाहाल, ललितपुर जिल्ला सहकारी संघका सचिव अनिलवीर बज्राचार्य, वाग्मती प्रदेश सहकारी संघका व्यवस्थापक रूपक घिमिरे, इको-टुरिज्मका राम पटेल लगायतको कार्यक्रममा सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन महासचिव तेजबहादुर बोहराले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष टिकाराम भट्टराईले गर्नुभएको थियो।
साधारण सभामा सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिबाट प्रस्तुत वार्षिक प्रतिवेदनहरू माथि पेश भएका प्रश्न र सुझावसहित विस्तृत छलफल गरी पारित गरिएको संघले जनाएको छ। संघले आगामी चार वर्षका लागि तयार गरिएको रणनीतिक योजना तथा विभिन्न ६ वटा आन्तरिक कार्यविधि पनि छलफलसहित पारित गरेको छ।

साधारण सभामा उत्कृष्ट सदस्य संस्थाको रूपमा काठमाडौँ ठमेलस्थित ‘पर्यटन समाज सहकारी संस्था’लाई सम्मान गरिएको थियो। त्यस्तै अन्य विभिन्न विधामा समेत उत्कृष्टता प्राप्त सहकारी संस्थाहरूलाई सम्मान गरिएको थियो।
साधारण सभाले केही सञ्चालकहरूको राजीनामा स्वीकृत गर्दै उपनिर्वाचनमार्फत नयाँ पदाधिकारी समेत चयन गरेको छ।
कार्यक्रममा बोल्नुहुँदै अतिथि वक्ताहरूले साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँहरूले नेपालमा पर्यटन व्यवसायका अवसर, चुनौती र सम्भावनाबारे चर्चा गर्दै सहकारी क्षेत्रमार्फत पर्यटन क्षेत्रको विकासमा योगदान पुर्याउन सकिने कुरामा जोड दिनुभएको थियो। सहकारिता र पर्यटनको सहकार्यले स्थानीय तहमा रोजगारी, आयस्रोत र आर्थिक गतिविधि बढाउन सक्ने भन्दै वक्ताहरूले संघको आगामी योजनाप्रति शुभेच्छा व्यक्त गर्नुभएको थियो।













प्रतिक्रिया दिनुहोस्