काठमाडौं, मंसिर २४। नेकपा एमाले केन्द्रीय सदस्य तथा केन्द्रीय संगठन विभाग सचिव माधव ढुङ्गेलले पार्टीको ११ औँ महाधिवेशनमा सचिव पदका लागि उम्मेदवारी दाबी गर्नु भएको छ।
रामेछापका युवा नेता ढुङ्गेल विद्यार्थी राजनीति हुँदै पार्टीको राजनीतिमा प्रवेश गर्नु भएको हो । ढुङ्गेल सचिव पदका लागि आफू योग्य र क्षमतावान् रहेको बताउनु हुन्छ। उहाँले विद्यार्थी आन्दोलनको सुरुदेखि नै सक्रिय रहँदै पार्टीले दिएको विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सफलतापूर्वक पूरा गरेको अनुभव सचिव पदका लागि प्रमुख आधार रहेको बताउनुभयाे ।
ढुङ्गेल अनेरास्ववियुका पूर्व केन्द्रीय अध्यक्ष हाे भने उहाँले राष्ट्रिय युवा परिषद्मा दुई कार्यकाल उपाध्यक्षका रूपमा काम गरिसक्नु भएकाे छ । त्यहाँ रहँदा उहाँले युवाकाे क्षमता विकास र राेजगारीकाे क्षेत्रमा उल्लेख्य काम गर्नु भएकाे छ । युवा नेताका रूपमा ढुङ्गेलले बिचारशील, शालीन र राष्ट्रिय स्वाभिमान तथा देश विकासको रणनीतिमा अडिग छवि निर्माण गर्नु भएकाे छ ।
विद्यार्थी संगठन अनेरास्ववियुमा प्राक, जिल्ला कमिटी अध्यक्ष, अञ्चल कमिटी सदस्य, नेपाल ल क्याम्पस सचिव, केन्द्रीय महासचिव तथा अध्यक्ष हुँदै ढंगेलले २०७१ सालदेखि नेकपा एमाले केन्द्रीय सदस्यमा जिम्मेवारी निर्वाह गर्दै आउनुभएकाे छ। पार्टीमा युवालाई रचनात्मक कार्यमा संलग्न गराउने, संगठनलाई लोकतान्त्रिक ढङ्गले सञ्चालन गर्न दिशानिर्देश दिने, विद्यार्थी संगठन विस्तार गर्ने र विभिन्न कमिटीमार्फत युवा तथा विद्यार्थीलाई सक्रिय बनाउने कार्यमा उहाँले नेतृत्व प्रदान गर्दै आउनुभएकाे छ ।
शैक्षिक रूपमा पिएचडी स्कलर ढुंगेल त्रिभुवन विश्वविद्यालयबाट नेपालमा समाजवादी शिक्षा प्रणाली विषयमा अनुसन्धानरत हुनुहुन्छ। उहाँ समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकाेत्तर तथा कानुनमा स्नातक हुनुहुन्छ । त्यसैगरी, पठन–पाठन, व्यावहारिक शिक्षा, अंग्रेजी साहित्य, राजनीतिक विज्ञान, अन्तर्राष्ट्रिय कानुन र अर्थशास्त्रमा पनि ढुंगेल दखल राख्नु हुन्छ । उहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानले समेत पुरस्कृत भइसक्नु भएकाे छ । २०१८ मा अन्तर्राष्ट्रिय युवा समितिबाट विश्व युवा पुरस्कार र २०१९ मा वर्ल्ड फ्युचर काउनसिलबाट फ्युचर पाेलिसि सिल्भर अवार्ड प्राप्त गर्नु भएकाे छ ।
ढुङ्गेल उत्कृष्ट नेतृत्व क्षमता, कुशल संगठनकर्ता, वैचारिक राजनीतिज्ञ, समुदाय र युवाबिच लोकप्रिय व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। उहाँ नेपाल बार एसोसिएसनका सदस्य, बौद्धिक लेखक र प्रेरक वक्ता पनि हुनुहुन्छ । आफ्नो अनुभव, शिक्षा र नेतृत्व क्षमताको आधारमा ढुङ्गेलले नेकपा एमाले सचिव पदका लागि उम्मेदवारी दाबी गर्नु भएकाे हाे ।














प्रतिक्रिया दिनुहोस्