काठमाडौं, पुस ९ । पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमले डेढ महिना नपुग्दै आफू संलग्न रहेको जनादेश पार्टी परित्याग गर्नु भएको छ ।
उहाँ आज आम जनता पार्टी (आजपा) मा प्रवेश गर्दै पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुनुभएको छ । आजपाले गौतमलाई पार्टीको उपाध्यक्षको जिम्मेवारी दिएको छ । आज प्रज्ञा भवनमा जारी आजपाको केन्द्रीय समिति बैठकमा उहाँलाई टीका, माला र खादा लगाएर औपचारिक रूपमा स्वागत गरिएको थियो ।
जनादेश पार्टी र आजपाले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ एकल चुनाव चिन्ह ‘मोबाइल’ प्रयोग गर्ने गरी दर्ता गराएका थिए । उक्त चुनाव चिन्ह सुरुमा जनादेश पार्टीको थियो । चुनावी सहकार्यको सहमतिपछि गौतम भने आजपामा प्रवेश गर्नुभएको हो।
पार्टी प्रवेशपछि प्रतिक्रिया दिँदै गौतमले समाजसेवालाई निरन्तरता दिँदै राजनीतिमार्फत थप सशक्त आवाज उठाउन आजपामा आबद्ध भएको बताउनुभएकाे छ। आजपाले उठाउँदै आएका मुद्दा, नीति र विचार मुलुक र नेपाली जनताको हितमा केन्द्रित रहेको उल्लेख गर्दै उहाँले समाजसेवाको काम अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयाे ।













प्रतिक्रिया दिनुहोस्