जनता टाइम्स

१० फाल्गुन २०८२, आईतवार १९:१८

सहकारी ठगीका दोषीलाई कडा कारबाही हुनुपर्छ : कुलमान घिसिङ


काठमाडौं, फागुन १० । उज्यालो नेपाल पार्टी का अध्यक्ष कुलमान घिसिङ ले सहकारी ठगी प्रकरणका दोषीलाई कडा कारबाही गर्नुपर्ने बताउनुभएको छ।

आइतबार पार्टीले रुपन्देहीको भैरहवामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी सबैभन्दा नयाँ र ऊर्जाशील राजनीतिक शक्ति भएको दाबी गर्नुभयो। उहाँले ‘जेनजी’ आन्दोलनले उठाएका मागलाई सम्बोधन गर्नकै लागि पार्टी स्थापना गरिएको स्पष्ट पार्नुभयो।

अध्यक्ष घिसिङले परम्परागत ‘टेस्टेड’ भनिएका पार्टीहरू नयाँ विकल्प हुन नसकेको उल्लेख गर्दै अब वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको धारणा राख्नुभयो। उहाँले नेपाल विद्युत् प्राधिकरण मा कार्यकारी प्रमुखका रूपमा जिम्मेवारी सम्हालेपछि देशव्यापी लोडसेडिङ अन्त्य गर्न सफल भएको स्मरण गर्दै अब समग्र क्षेत्रको अँध्यारो हटाएर गरिब परिवारको जीवनमा उज्यालो ल्याउने लक्ष्यसहित पार्टी अघि बढेको बताउनुभयो।

पूर्वमन्त्रीसमेत रहनुभएका उहाँले मिटरब्याजी, लघुवित्त तथा सहकारी ठगी प्रकरणका कारण किसान र विपन्न वर्ग गम्भीर रूपमा प्रभावित भएको उल्लेख गर्नुभयो। पीडितहरूको समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने एजेन्डा आफ्नो पार्टीको प्राथमिकतामा रहेको उहाँको भनाइ थियो।

अध्यक्ष घिसिङले आर्थिक अनियमितता र वित्तीय विकृतिविरुद्ध कडाइका साथ उत्रिने प्रतिबद्धता व्यक्त गर्नुभयो।