जनता टाइम्स

३ कार्तिक २०८३, मंगलबार १०:४४

सानीमदौमा प्रथम वडा कप पुरुष भलिबल प्रतियोगिता सम्पन्न, साविक वडा नं. २ प्रथम


रामेछाप, कात्तिक ३। सानीमदौ सामुदायिक सिकाइ केन्द्र मन्थली-१ द्वारा आयोजित विभिन्न चाडपर्वको शुभकामना आदानप्रदान तथा साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ।

सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष तीर्थ सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बागमती प्रदेशका प्रदेशसभा सदस्य आनन्दकुमार श्रेष्ठ प्रमुख अतिथि तथा नगर प्रमुख लव श्रेष्ठ विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। सिकाइ केन्द्रका उपाध्यक्ष शान्ता न्यौपाने सुवेदीले सञ्चालन गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष सोवित न्यौपाने सुवेदीले सहजीकरण गर्नुभएको थियो।

प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो। प्रतिस्पर्धात्मक खेलमा साविक वडा नं. २ ले प्रथम स्थान हासिल गर्दा साविक वडा नं. ४ ‘ए’ दोस्रो र साविक वडा नं. ५ तेस्रो भएका छन्। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टोलीले क्रमशः १८ हजार, १४ हजार र ८ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका थिए। प्रतियोगितामा सहभागी सबै खेलाडीलाई समेत प्रमाणपत्र वितरण गरिएको थियो।

त्यसैगरी, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको पुरस्कार साविक वडा नं. ४ ‘ए’ का खेलाडी अश्विन नेपालीले प्राप्त गर्नुभयो। उहाँलाई २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो। उक्त पुरस्कार गुणराज खड्काले प्रायोजन गर्नुभएको थियो।

प्रतियोगितामा रेफ्रीको भूमिका रोशन रावतले निर्वाह गर्नुभएको थियो। समापन समारोहमा अग्रज भलिबल खेलाडीहरूलाई सम्मान गर्नुका साथै कार्यक्रम सफल बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिहरूलाई कदरपत्र प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिहरूले विजयी टोली र खेलाडीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँहरूले विजेता खेलाडीहरूलाई पुरस्कार तथा प्रमाणपत्रसमेत वितरण गर्नुभएको थियो।

सामुदायिक सिकाइ केन्द्रले आयोजना गरेको उक्त कार्यक्रमले विभिन्न चाडपर्वका अवसरमा आपसी सद्भाव, भाइचारा र सामाजिक एकता अभिवृद्धि गर्नुका साथै स्थानीयस्तरमा खेलकुदको विकास र प्रतिभा पहिचानमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।