जनता टाइम्स

३ कार्तिक २०८३, मंगलबार ०८:४३

प्रथम नामाडी कप भलिबल प्रतियोगिता सम्पन्न, ओखलढुङ्गाको चम्पादेवी–१ बन्यो विजेता


रामेछाप, कात्तिक ३ । रामेछापको गोकुलगंगा गाउँपालिका–५, नामाडीमा आयोजित ‘प्रथम नामाडी कप–२०८३’ अन्तरवडा खुला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ।

गोकुलगंगा गाउँपालिका–५ को आयोजनामा कमलादेवी माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन भएको प्रतियोगितामा विभिन्न जिल्लाका १६ टोलीले सहभागिता जनाएका थिए।

प्रतियोगितामा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–१ प्रथम स्थान हासिल गर्दै विजेता बन्न सफल भएको छ। विजेता बनेसँगै चम्पादेवी–१ ले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

त्यस्तै, चितवनको भरतपुर महानगरपालिका–१८ दोस्रो हुँदै नगद रु. ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ। आयोजक गोकुलगंगा गाउँपालिका–५ ले तेस्रो स्थान हासिल गर्दै नगद रु. २५ पच्चिस हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ। साथै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विधागत पुरस्कारस्वरूप नगद र ट्रफी प्रदान गरिएको छ।

विजयी खेलाडीलाई वाग्मती प्रदेशका पूर्वमन्त्री शान्तिप्रसाद पाैडेल, गाउँपालिका अध्यक्ष काजीबहादुर खड्का, वडाध्यक्ष दीपक कार्की लगायतले पुरस्कार वितरण गर्नु भएकाे थियाे ।

प्रतियोगिता सम्पन्न भएपछि गोकुलगंगा गाउँपालिका–५ का वडाध्यक्ष दीपक कार्कीले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आयोजकका तर्फबाट धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ। वडाध्यक्ष कार्कीले प्रतियोगिता सफल बनाउन अहोरात्र खटिने स्वयंसेवक, विभिन्न जिल्लाबाट सहभागी खेलाडी, सुरक्षाकर्मी, वडा समिति, नामाडीवासी, खेलप्रेमी, पत्रकार, निर्णायक, राजनीतिक दलका प्रतिनिधि, स्थानीय व्यवसायी तथा अतिथिहरूलाई धन्यवाद दिनुभएको हो।

त्यसैगरी, श्री कमलादेवी माध्यमिक विद्यालय, नामाडी र नामाडी स्वास्थ्य चौकीलगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबैप्रति उहाँले आभार व्यक्त गर्नुभएको छ।

स्थानीयस्तरमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगितामा विभिन्न जिल्लाका टोलीको सहभागिताले नामाडीमा खेलकुदप्रतिको आकर्षण र सक्रियता देखाएको छ।