जनता टाइम्स

२७ चैत्र २०८२, शुक्रबार २०:५८

संसदमा हर्क साम्पाङको सुझाव : टेबल ठोक्नुभन्दा ताली बजाउँदा राम्रो हुन्छ


काठमाडौं, चैत २७ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभा बैठकमा टेबल ठोक्नुको साटो ताली बजाएर समर्थन जनाउन आग्रह गर्नुभएको छ। संसदमा बोल्ने क्रममा सांसदहरूले टेबल ठोकेर समर्थन जनाएको प्रसंगलाई संकेत गर्दै उहाँले सभाकाे मर्यादा र सकारात्मक संसदीय संस्कृतिका लागि ताली बजाउने अभ्यास उपयुक्त हुने धारणा राख्नुभयो।

आजको बैठकमा सम्बोधनका क्रममा रास्वपाका सांसदहरूले टेबल ठोकेर समर्थन जनाएपछि साम्पाङले त्यसबारे प्रतिक्रिया दिँदै भन्नुभयो, ‘आउँदा दिनमा हामीले ताली बजाउँदा कस्तो हुन्छ होला ? खाली हामीले टेबल–कुर्सी ठोकेर, टेबल–कुर्सीमा चढेर, यो पनि त्यति राम्रो भइराखेको छैन, त्यसो भएकाले दुई हात छन्, दुई हात बजाएर ताली ठोक्दा कति राम्रो हुन्थ्यो होला।’

उहाँले संसदभित्र समर्थन र असहमति व्यक्त गर्ने शैलीलाई अझ सभ्य र मर्यादित बनाउनुपर्नेमा जोड दिनुभयो।

यसैबीच, साम्पाङले आफ्नै पार्टीकी सांसद तथा नवनिर्वाचित उपसभामुख रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर सम्बोधन गरिएको विषयमा पनि आपत्ति जनाउनुभयो। बैठकमा केही सांसदहरूले सम्बोधनका क्रममा ‘रुबी बहिनी’ शब्द प्रयोग गरेको उल्लेख गर्दै उहाँले यस्तो सम्बोधन संसदीय मर्यादासँग मेल नखाने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘हाम्रा कतिपय पूर्ववक्ता माननीयज्यूहरूले हाम्रो माननीय रुबी बहिनी भनेर यहाँ सम्बोधन गरेको देखेँ, त्यो शब्दलाई खारेज गरियोस्।’

साम्पाङले संसदभित्र व्यक्तिगत नाता–सम्बन्धका आधारमा नभई सबैलाई समान सम्मानका साथ सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो। उहाँका अनुसार संसद व्यक्तिगत सम्बन्ध देखाउने थलो नभई संवैधानिक जिम्मेवारी निर्वाह गर्ने सर्वोच्च राजनीतिक मञ्च हो।

उहाँले भन्नुभयो, ‘यहाँ कोही कसैका बहिनी, नातिनी, बाजे, मामा–भान्जा भन्ने हिसाबले बोल्न हुँदैन, हामी यहाँ सबैजनाले एकले अर्कालाई माननीय भनेर सम्मान गर्नुपर्छ।’

उहाँको भनाइलाई संसदीय भाषा र आचरणबारे उठाइएको महत्त्वपूर्ण प्रश्नका रूपमा पनि हेरिएको छ। पछिल्लो समय संसदमा हुने व्यवहार, नाराबाजी र समर्थन जनाउने शैलीबारे विभिन्न टिप्पणी भइरहेका बेला साम्पाङको सुझावले संसदीय संस्कृतिमा नयाँ बहस सुरु गराएको छ।