काठमाडौं, वैशाख ३ । गृहमन्त्री सुधन गुरुङले नेपाल वायुसेवा निगमलाई धम्कीपूर्ण आदेश दिएर बहिनीलाई निःशुल्क टिकट दिन भनेको समाचारको विषयमा ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाउनु भएको छ ।
जनताटाइम्स डटकममा प्रकाशित ‘गृहमन्त्री सुधनको लोकप्रिय काम : बहिनीलाई हङकङको निःशुल्क टिकट दिन वायुसेवा निगमलाई धम्कीपूर्ण निर्देशन’ शीर्षकको समाचारले आफ्नो व्यक्तिगत प्रतिष्ठामा आघात पुगेको उल्लेख छ ।
चैत २२ गते प्रकाशित सो समाचारप्रति चैत २३ गतेको मितिमा नयाँ वर्षको दिन प्राप्त खण्डनमा गृहमन्त्री गुरुङले आफूले कतै समाचारको खण्डन गर्नुभएको छ । गृहमन्त्री गुरुङको खण्डनमा भनिएको छ, ‘कथित स्रोतलाई उद्धृत गरिएको भए पनि सो स्रोतको पहिचान, प्रमाण वा आधिकारिक पुष्टि कतै उल्लेख गरिएको छैन । यस प्रकारको अपुष्ट र एकतर्फी समाचार सामग्री प्रकाशन गर्नुको उद्देश्य मेरो व्यक्तिगत प्रतिष्ठामा आघात पुर्याउने र चरित्र हत्या गर्ने बाहेक अन्य केही देखिँदैन ।’
गृहमन्त्री गुरुङको बहिनी सोनिया गुरुङले पर्यटन बोर्डमार्फत अगाडि बढाएको फाइल रोकिएपछि गृह मन्त्रीको सचिवालयबाट नेपाल वायुसेवा निगमलाई निःशुल्क टिकटको व्यवस्था मिलाउन धम्कीपूर्ण निर्देशन गएको समाचारप्रति गृहमन्त्रीले आपत्ति जनाउनु भएको हो । खण्डनमा गृहमन्त्रीले आफूले यस्तो निर्देशन नदिएको भन्ने उल्लेख भने कतै गर्नुभएको छैन ।
गृहमन्त्रीको पदीय दुरुपयोगको विषयमा प्रकाशित सो समाचारको विषयमा पठाइएको खण्डनमा भने गृहमन्त्री उल्लेख नगरी व्यक्तिगत रूपमा पठाउनु भएको छ । चैत २२ गते प्रकाशित समाचारको खण्डन पनि पहिला प्रेस काउन्सिलमा उजुरी गरी काउन्सिलबाट प्राप्त भएपछि मात्र पुन गृह मन्त्रालयको मेलबाट पठाइएको छ ।
सो खण्डनलाई हामीले जस्ताको तस्तै प्रकाशित गरेका छौँ । समाचार स्रोतप्रति हामी विश्वस्त भए पनि समाचारप्रति प्राप्त धारणा सहमति वा असहमति जे भए पनि जस्ताको तस्तै प्रकाशित गर्ने सम्पादकीय नीति रहेको कारण गृहमन्त्रीको नाममा नआए पनि गृह मन्त्रालयको आधिकारिक मेलबाट प्राप्त भएकोले प्रकाशन गरेका छौँ ।













प्रतिक्रिया दिनुहोस्