काठमाडौं, वैशाख ६ । सल्यानको बनगाड कुपिन्डे नगरपालिका– १० पुछालामा जन्ती सवार जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । बनगाड कुपिन्डे नगरपालिका–८ थाराबाट कालीमाटी गाउँपालिका– १ लक्ष्मीपुर जाँदै गरेको लु.प्र ०१००१ ज ०२७१ नम्बरको जिप पुछाला भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी बनगाड कुपिन्डे नगरपालिका– ८ का ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षीय ठगे घर्ती र २९ वर्षीय कर्णबहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गम्भीर घाइते तीनैजनालाई उपचारका लागि सल्यान जिल्ला अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनुभयो ।दुर्घटनामा परी मनबहादुर थापा, अम्मरसिंह कँवर, डम्मर घर्ती, जनक थपा, भूपेन्द्र कँवर, भुलबहादुर थापा, जुगसिंह पुन, अम्मर पुन, नरसिंह थापा, प्रेमबहादुर घर्ती, नरबहादुर थापा, कर्णबहादुर थापा, लालबहादुर घर्ती, तिलक थापा र गाडीचालक कुलबहादुर राना घाइते भएको भट्टराईले बताउनुभयो । घाइतेलाई मेहलकुना अस्पताल पठाइएको प्रहरीको भनाइ छ । जिप अनियन्त्रित हुँदा सडकबाट करिब ५० मिटर तल खसेको छ ।













प्रतिक्रिया दिनुहोस्