काठमाडौं, वैशाख ९ । नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको भएको दिन अर्थात् आज देशभर ७७औँ स्थापना दिवस मनाइँदै छ । स्थापना दिवसको अवसरमा कम्युनिष्ट पार्टीहरूले विविध कार्यक्रमको आयोजना गरेर यो दिवस मनाउने जनाएका छन् ।
नेपालमा कम्युनिष्ट आन्दोलनको संगठनात्मक सुरुआत भएको दिनको स्मरणमा नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लगायत विभिन्न वामपन्थी दलहरूले आफ्नो हैसियतअनुसार आज विभिन्न कार्यक्रम गरी मनाउने जनाएका छन् ।
जहानियाँ राणा शासनकै समयमा २००६ वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी, मोती देवीलगायतले नेपालमा पहिलोपल्ट नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो । नेपालमा कम्युनिष्ट पार्टीको पहिलो महासचिव पुष्पलाल हुनुभएको थियो ।
स्थापनाको ८ दशक पुग्न लाग्दा कम्युनिष्ट पार्टीहरूले पटक पटक विभाजन र पटक पटक नेपालमा शासनसत्ता चलाएका छन् । २०४६ को जनआन्दोलनपछि कम्युनिस्ट आन्दोलनले गति पाएको थियो भने २०६२ ६३ को जनआन्दोलनपछि प्रमुख शक्तिका रूपमा उदाएका थिए ।
नेपालमा २०८२ फागुन २१ को निर्वाचनपछि भने कम्युनिष्ट पार्टी अत्यन्त कमजोर अवस्थामा पुगेका छन् । शक्ति पनि दुई तिहाइ गुमेको देखिएको छ । शृङ्खलाबद्ध टुटफुट र सत्ता केन्द्रित राजनीति र आफैभित्रको चरम गुटबन्दीले नेपालमा कम्युनिष्ट आन्दोलन धरापमा परेको विश्लेषण भइरहेको छ।













प्रतिक्रिया दिनुहोस्