काठमाडौं, वैशाख १० । सर्लाहीको बरहथवाका भागनारायण महतो र उनकी पत्नी उमाकुमारी महतो अहिले माइतीघर मण्डलामा धर्नामा छन्। उनीहरूको माग स्पष्ट छ—आफ्नो गुमेको भनिएको जग्गा फिर्ता र घटनाको निष्पक्ष छानबिन। तर, उनीहरूको कथा केवल एउटा धर्नासम्म सीमित छैन; यो वर्षौंदेखि चलेको आर्थिक, सामाजिक र कानुनी जटिलताको कथा हो।
भागनारायण महतो बहराइनमा सामान्य कामदारका रूपमा काम गर्थे। न्यून तलब र टिप्स जोडेर जोगाएको रकम उनले परिवारका लागि नेपाल पठाइरहेका थिए। यही बीच २०७२ सालतिर उनकी पत्नी उमाकुमारीले छिमेकीसँग डेढ लाख रुपैयाँ ऋण लिइन्। त्यतिबेला सामान्य देखिएको यो ऋण पछि महतो परिवारका लागि गहिरो समस्याको कारण बन्यो।
महतो दम्पतीको आरोप अनुसार ऋण लिँदा बनाइएका कागजातमा झुक्याएर ठूलो रकमको तमसुक तयार गरियो। उनीहरूका अनुसार ‘दृष्टिबन्धक’ भनिएको प्रक्रिया अन्ततः जग्गा नामसारीमा परिणत भयो। उमाकुमारी निरक्षर भएका कारण कागजमा के लेखिएको छ भन्ने बुझ्न नसकेको र विश्वासकै आधारमा सहीछाप लगाएको उनीहरूको भनाइ छ।
समय बित्दै जाँदा ऋण र ब्याजको रकम बढ्दै गयो। बहराइनबाट पठाइएको रकम, गाउँबाट लिइएको थप ऋण र सम्पत्ति बेचेर समेत उनीहरूले ठूलो रकम तिरेको दाबी गरेका छन्। उनीहरूका अनुसार २०७४ देखि २०७९ सम्ममा ६५ लाख रुपैयाँभन्दा बढी रकम बुझाइसक्दा पनि ऋण समाप्त भएन, उल्टै जग्गा गुमेको अवस्था आयो।
घटनाको मोड त्यतिबेला आयो, जब छोरीको विवाहका लागि बैंकबाट ऋण लिन खोज्दा जग्गा आफ्नो नाममा नरहेको थाहा भयो। त्यसपछि मात्रै उनीहरूले आफू ठगिएको आशंका गर्दै प्रशासनिक र कानुनी ढोका ढकढक्याउन थाले।
महतो परिवारले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा उजुरी दियो, तर त्यहाँबाट अपेक्षित न्याय नपाएको गुनासो छ। उनीहरूका अनुसार उजुरीपछि उल्टै विपक्षी पक्षबाट नै कानुनी मुद्दा दायर गरियो। अहिले उक्त जग्गा सम्बन्धी विवाद अदालतमा पुगेको छ, जहाँ दुवै पक्षको भोगचलनसमेत रोकिएको बताइएको छ।
यसअघि पनि उनीहरू काठमाडौं आएका थिए। मिटरब्याज पीडित आन्दोलनसँगै पैदल यात्रा गरेर राजधानी पुगेका महतो दम्पतीले विभिन्न सरकारी निकायसँग भेटघाट गरे। तत्कालीन प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मसँग भेट हुँदा आश्वासन पाए पनि व्यवहारमा समाधान नआएको उनीहरूको अनुभव छ।
यसपटक भने उनीहरू १९ दिनदेखि काठमाडौंमा छन्। सिंहदरबार धाउँदा स्पष्ट समाधान नपाएपछि माइतीघर मण्डलामा धर्ना सुरु गरेका हुन्। उनीहरूको माग—सम्पूर्ण घटनाक्रमको छानबिन, सम्पत्तिको स्रोत अनुसन्धान, र न्यायिक संरक्षण।
उता आरोपित पक्षका निशान मैनालीले भने सबै आरोप अस्वीकार गरेका छन्। उनले जग्गा आफ्नो परिवारकै भएको दाबी गर्दै अदालतबाट मुद्दा जितिसकेको बताएका छन्। महतो दम्पतीलाई कसैले प्रयोग गरेको आरोपसमेत उनले लगाएका छन् र आवश्यक परे कानुनी रूपमा प्रतिवाद गर्ने बताएका छन्।
यस प्रकरणमा एकातिर पीडित भएको दाबी गर्ने परिवार छ भने अर्कोतिर कानुनी रूपमा आफू सही रहेको दाबी गर्ने पक्ष। सत्य के हो भन्ने कुरा अब अनुसन्धान, प्रमाण र अदालतको अन्तिम निर्णयले मात्र टुंग्याउनेछ। अहिलेका लागि भने माइतीघरमा बसेको महतो दम्पतीको आर्तनाद राज्यको ध्यानाकर्षण गराइरहेको छ।













प्रतिक्रिया दिनुहोस्