जनता टाइम्स

१३ बैशाख २०८३, आईतवार १३:१०

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली


काठमाडौं,  वैशाख १३ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पूर्व अध्यक्ष तथा नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर नेतृत्व गर्न सक्ने नेता भएको बताउनुभएको छ।

अधिकारीको २७ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ज्ञवालीले उहाँले युवा नेतृत्वलाई अघि बढाउने साहसिक निर्णयहरू गरेको उल्लेख गर्नुभयो। २०४७ सालमा तत्कालीन नेकपा माले र मार्क्सवादीबीच एकता हुँदा ६९ वर्षको उमेरमा ३८ वर्षीय मदन भण्डारीलाई महासचिव बनाउनु त्यसको उदाहरण भएको उहाँको भनाइ थियो।

“मनमोहन अधिकारीले युवालाई विश्वासमा लिएर पार्टीलाई उचाइमा पु¥याउनुभयो,” ज्ञवालीले भन्नुभयो, “एमालेले अनुभव र युवाको ऊर्जा संयोजन गर्ने अभ्यास गरेको थियो।”

उहाँले अहिलेको राजनीतिमा पुस्ताबीच अतिवादी सोच बढ्दै गएको उल्लेख गर्दै परिपक्व नेतृत्वको मार्गदर्शन र युवाको ऊर्जा मिलेर मात्र देश निर्माण सम्भव हुने धारणा राख्नुभयो।

सो अवसरमा ज्ञवालीले नेपालको कम्युनिष्ट आन्दोलन हाल चुनौतीपूर्ण अवस्थामा रहेको पनि बताउनुभयो। उहाँका अनुसार पछिल्लो निर्वाचनपछि बनेको सरकारका गतिविधिले लोकतान्त्रिक प्रणालीमाथि प्रश्न उठाउने अवस्था सिर्जना गरेको छ।

“देश निर्वाचित सर्वसत्तावादतर्फ जाने हो कि भन्ने चिन्ता बढेको छ,” उहाँले भन्नुभयो, “ट्रेड युनियन कमजोर बनाउने, विद्यार्थी संगठनमाथि अंकुश लगाउने र स्वतन्त्र मिडियालाई प्रभावित गर्ने गतिविधिले शंका उत्पन्न गरेको छ।”

उहाँले वर्तमान राजनीतिक परिस्थितिमा लोकतान्त्रिक मूल्य, स्वतन्त्रता र संस्थागत सन्तुलन जोगाउन सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिनुभयो।