काठमाडौं, वैशाख १३ । उपत्यकाका विभिन्न क्षेत्रबाट सुकुमवासी बस्ती हटाइएपछि अस्थायी रूपमा कीर्तिपुरमा राखिएका विस्थापितहरूले खानपान व्यवस्थापनप्रति असन्तुष्टि जनाएका छन्।
सरकारले थापाथली, गैरीगाउँ, सिनामंगल लगायत क्षेत्रका बस्ती खाली गराएपछि प्रभावित सुकुमवासीहरूलाई कीर्तिपुर, भक्तपुर र ललितपुरका विभिन्न अस्थायी सेल्टरमा राखिएको छ। कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग आश्रममा राखिएका सुकुमवासीहरूले पर्याप्त खाना नपाएको गुनासो गरेका हुन्।
महानगरपालिकाले प्याकेटमा खाना, चिया र बिस्कुट वितरण गरेको भए पनि कतिपयले बिहानको नास्तासमेत नपाएको र दिइएको खाना पर्याप्त नभएको बताएका छन्। मध्यान्हपछि वितरण गरिएको खाना पनि एक प्याकेटले पेट नभरिने भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
बस्ती छाड्न बाध्य बनेका सुकुमवासीहरू पहिले नै मानसिक र आर्थिक दबाबमा रहेको अवस्थामा आधारभूत आवश्यकतामै समस्या देखिएको उनीहरूको भनाइ छ।
यसअघि सरकारले प्रभावितहरूलाई ‘स्क्रिनिङ’ प्रक्रिया मार्फत विवरण संकलन गरी अस्थायी आवासमा व्यवस्थापन गर्ने जनाएको थियो। तर स्थलमै देखिएको व्यवस्थापनले थप चुनौती देखाएको छ।
मनोहरा क्षेत्रका बस्ती हटाउने क्रम जारी रहँदा विस्थापितहरूको दीर्घकालीन व्यवस्थापन र आधारभूत सेवाको सुनिश्चितता मुख्य चुनौतीका रूपमा देखिएको छ।














प्रतिक्रिया दिनुहोस्