काठमाडौं, वैशाख १६ । सरकारले संसद् अधिवेशन स्थगित गरेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको संयुक्त बैठक बोलाएको छ ।
प्रमुख विपक्षी दलका नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आज मध्याह्न १२ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक आह्वान गर्नुभएको हो। बैठकमा नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेतालाई आमन्त्रण गरिएको छ।
बैठकमा संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने सरकारको कदमबारे छलफल गर्नुका साथै संयुक्त प्रतिवाद रणनीति तय गर्ने एजेण्डा रहेको जनाइएको छ।
मंगलबार प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ अध्यादेश पुगेपछि मात्रै सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याएको सार्वजनिक भएको थियो। उक्त कदमप्रति असन्तुष्टि जनाउँदै नेता आङ्देम्बेले संसद् छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक, बलमिच्याइँपूर्ण राजनीति तथा सार्वभौम संसद्को अपमान भएको प्रतिक्रिया दिनुभएको छ।
उहाँले लोकतन्त्र, जनअभिमत, सार्वभौम संसद् र संविधानको मर्ममाथि कुनै पनि प्रकारको हस्तक्षेप सह्य नहुने स्पष्ट पार्दै प्रतिपक्ष त्यसको प्रतिवाद गर्न प्रतिबद्धता जनाउनु भएकाे छ । दुई तिहाइ नजिकको बहुमत हुँदाहुँदै पनि अध्यादेश ल्याइएकोप्रति प्रश्न उठाउँदै उहाँले सरकारसँग आफ्नै पार्टीको बहुमतप्रति किन अविश्वास ? भन्ने जिज्ञासा राख्नुभएको छ।
सरकारले अध्यादेश ल्याउने निर्णय गरेसँगै नेकपा एमाले, नेपाली कम्युनिसष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि कडा शब्दमा विरोध जनाएका छन्। सोमबारको मन्त्रिपरिषद् बैठकबाट उक्त अध्यादेश ल्याउने निर्णय गरिएको खुलेको भए पनि सरकारका प्रवक्तासमेत रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रारम्भमा यसबारे जानकारी दिनुभएको थिएन।













प्रतिक्रिया दिनुहोस्