रामेछाप, वैशाख २१ । रामेछापको खाँडादेवी गाउँपालिका–५ गोगनपानी सुलीथुम्कामा निर्माण गरिएको भ्यु टावरसहितका संरचना संरक्षण र प्रयोगको अभावमा क्रमशः नष्ट हुँदै गएका छन्।
वाग्मती प्रदेश सरकारले प्रदेशका ११ जिल्लामा एकसाथ निर्माण गरेका ११ भ्यु टावरमध्ये खाँडादेवीको यो टावर पनि एक हो। २०७७ सालमा निर्माण सम्झौता भई २०७८ सालमा सम्पन्न गरिएको उक्त आयोजनामा ३ करोड २० लाख ६० हजार ८ सय ५१ रुपैयाँ खर्च गरिएको थियो।

भ्यु टावरसँगै टावरसम्म पुग्ने पदमार्ग, शौचालय, प्रतीक्षालय, टिकट घर र कार्यालय भवनलगायतका संरचना निर्माण गरिएका थिए। तर निर्माण सम्पन्न भएको केही वर्षमै सञ्चालनमा नआउँदा ती संरचना अहिले बेवारिसे बनेका छन्।

भ्यु टावरका अधिकांश संरचनामा तोडफोड भएको । प्रवेश गेटमा रहेको टिकट घरका झ्यालढोका फुटाइएका छन् भने शौचालयका धारा, बेसिन र झ्याल-ढोकासमेत क्षतिग्रस्त बनाइएको छ। कार्यालय भवनका संरचनामा पनि क्षति पुगेको छ।
भ्यु टावर स्वयं पनि सुरक्षित छैन। भ्यु टावरका झ्याल-ढोका तोडिएको छ भने छानोसमेत उडाएर पानी चुहिने अवस्थामा पुगेको छ। संरक्षण र समयमै मर्मत सम्भार नहुँदा सम्पूर्ण संरचना क्रमशः खण्डहरमा परिणत हुँदै गएका छन्।

तत्कालीन वाग्मती प्रदेश सरकारको उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयले निर्माण गरेको उक्त भ्यु टावरको सञ्चालन वा हस्तान्तरणसम्बन्धी स्पष्ट कार्यविधि नहुँदा समस्या जटिल बनेको छ । प्रदेश सरकारले न त आफैँ सञ्चालन गरेको छ, न त स्थानीय तहलाई जिम्मा दिएको छ।

उता, स्थानीय सरकारको रूपमा रहेको खाँडादेवी गाउँपालिकाले पनि संरचनाको संरक्षणमा चासो देखाएको छैन। न्यूनतम रेखदेख र सुरक्षा व्यवस्था मिलाइएको भए पनि यति ठुलो लगानीका संरचना प्रयोगविहीन भई नष्ट हुने अवस्था नआउने स्थानीयको भनाइ छ।

सरकारी लगानीमा निर्माण गरिएका यस्ता पूर्वाधार समयमै सञ्चालन र संरक्षण नहुँदा सार्वजनिक स्रोतको दुरुपयोग भएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन्। यो संरचनालाई प्रयोगमा ल्याउने वा वैकल्पिक व्यवस्थापन गर्नेबारे सम्बन्धित निकायले चासो दिनुपर्ने देखिएको छ ।













प्रतिक्रिया दिनुहोस्