जनता टाइम्स

२९ मंसिर २०७६, आईतवार १८:५२

प्रधानमन्त्री-मन्त्रीको एक्शनले उपत्यकाको खाल्डाखुल्डी पुर्ने काममा तीब्रता, आउन थाल्यो यस्तो नतिजा


काठमाडौं, मंसिर २९ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि उपत्यकाका सडकमा खाल्डाखुल्डी पुर्ने काम तीव्र रुपमा अघि बढेको छ । प्रधानमन्त्री ओलीले फागुन महिनाभित्र खाल्डाखुल्डी पुर्न निर्देशन दिनुभएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कमलाई तीब्रता दिएको हो ।

भौतिक पूर्वाधार मन्त्री बशन्त नेम्वाङले प्रधानमन्त्री ओलीको निर्देशनअनुसार काम गर्न मातहतका निकायलाई कडाई गर्नुका साथै आफै सडक निरीक्षणमा नियमित निस्कन थालेसँगै काठमाडौं उपत्यकामा पहिलेदेखि थुप्रिरहेका समस्या समाधानतर्फ अघि बढेको छ । हरेक कामलाई सहज रुपमा सल्टाउने छवि बनाउनु भएका मन्त्री नेम्वाङकै योजनाअनुसार मन्त्रालयले थप खाल्डाखुल्डी हटाउन आफ्नो मातहतको निकायलाई खटाइसकेको छ । ‘प्रधानमन्त्रीज्यूको निर्देशनपछि हामीले मंसिर १७ गतेदेखि नै उपत्यकाको खाल्डाखुल्डी पुर्ने कामलाई तीव्रता दिएका छौं,’ भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङले जनताटाइम्ससँग भन्नुभयो । उहाँले प्रधानमन्त्रीले दिएको बटमलाइनअनुसार नै काम सकाउने जानकारीसमेत दिनुभयो । ‘फागुन मसान्तसम्म हाम्रो निकायअन्तर्गतका काम सकाउँछौं,’ उहाँले भन्नुभयो ।

त्यसो त उपत्यकालाई कुरुप बनाइरहेको सडकका खाल्डाखुल्डी पुर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ‘टास्क फोर्स’ र ‘क्विक रेस्पोन्स’ टिम बनाएको छ । जसलाई प्रधानमन्त्री कार्यालयको आर्थिक पूर्वाधार महाशाखाले समन्वय गरिरहेको छ । प्रधानमन्त्री कार्यालयका सहसचिवको नेतृत्वमा बनेको टास्क फोर्समा महानगरीय ट्राफिक कार्यालय, सडक विभाग, यातायात व्यवस्था विभाग र महानगरपालिका छन । दुई तहको टास्क फोर्सअन्तर्गत पहिलो तहमा प्रधानमन्त्री कार्यालयका सहसचिवको संयोजकत्वमा सडक विभागको उपमहानिर्देशक, महानगरीय ट्राफिक कार्यलयका प्रमुख र यातायात व्यवस्था विभागका कार्यकारी निर्देशक सदस्य रहेका छन ।

दोस्रो तहमा ‘क्विक रेस्पोन्स’ टिम हुनेछ । प्रधानमन्त्री कार्यालयका उपसचिवको नेतृत्वमा सडक विभागका उपसचिव, ट्राफिकको डिएसपी र यातायात व्यवस्था विभागको उपसचिव टिममा रहनेछन । ‘क्विक रेस्पोन्स’ टिमले उपत्यकाका विभिन्न भागमा घुम्ने र सडकको अवस्था जाँच गर्नेछ । प्रधानमन्त्री ओलीको निर्देशनलाई कार्यान्वयन गर्न यो टिम बनाइएको हो । ‘तीव्र गतिमा काम गर्न हाम्रो टिमले निगरानीको पनि निगरानी गर्नेछ,’ प्रधानमन्त्री कार्यालयका सहसचिव यमलाल भुसालले भन्नुभयो ।