रामेछाप, जेठ २ । पहाडका कठिन बाटा, घण्टौँको पैदल यात्रा, वर्षायाममा अवरुद्ध हुने गोरेटो र स्वास्थ्य सेवाको सीमित पहुँच—यी सबै चुनौतीलाई पार गर्दै रामेछापको दुर्गम उमाकुण्ड गाउँपालिकाले एउटा ऐतिहासिक सफलता हासिल गरेको छ । गाउँपालिकालाई शनिबार औपचारिक रूपमा ‘पूर्ण खोपयुक्त गाउँपालिका’ घोषणा गरिएको छ ।
यो केवल एउटा प्रशासनिक घोषणा होइन, दुर्गम गाउँका आमाबुबाको भरोसा, महिला स्वास्थ्य स्वयंसेवीकाको अथक दौडधुप, स्वास्थ्यकर्मीको समर्पण र जनप्रतिनिधिको साझा प्रतिबद्धताको परिणाम हो ।
गाउँपालिकामा आयोजित विशेष कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर र जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभुकुमार झाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गर्नुभयाे । कार्यक्रममा गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारको अध्यक्षता रहेको थियो ।
कुनै समय सामान्य स्वास्थ्य सेवा पाउनसमेत कठिन मानिने उमाकुण्डमा अब खोप लगाउनुपर्ने उमेर समूहका कुनै पनि बालबालिका खोप सेवाबाट बाहिर नरहेको घोषणा हुँदा कार्यक्रममा सहभागी धेरैको अनुहारमा सन्तोष र गर्व मिसिएको मुस्कान देखिन्थ्यो ।
गाउँपालिका अध्यक्ष सुनुवारले यो सफलता कसै एक व्यक्तिको नभई सम्पूर्ण समुदायको साझा मेहनतको प्रतिफल भएको बताउनुभयाे । उहाँले महिला स्वास्थ्य स्वयंसेवीका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र अभिभावकले निभाएको भूमिकाको खुलेर प्रशंसा गर्दै अब यो अवस्थालाई निरन्तर कायम राख्नु अझ ठूलो जिम्मेवारी भएको उल्लेख गर्नुभयो । ‘दुर्गम बस्तीका हरेक घरमा पुगेर बालबालिकालाई खोपको पहुँचमा ल्याउनु सजिलो थिएन,’ गाउँपालिका स्वास्थ्य शाख प्रमुख अविजित सुनुवारले भन्नुभयाे, ‘तर कुनै पनि बच्चा खोपबाट वञ्चित नहोस् भन्ने उद्देश्यले हामी निरन्तर लागिरह्यौँ । आज त्यसको नतिजा देखिएको छ ।’

कार्यक्रममा बोल्दै मन्त्री थापा मगरले समृद्ध प्रदेश निर्माणका लागि शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा समान रूपमा सुधार आवश्यक रहेको बताउनुभयो । उहाँले तीनै तहका सरकारबीच सहकार्य भए मात्रै दुर्गम क्षेत्रका नागरिकले वास्तविक परिवर्तन महसुस गर्न सक्ने धारणा राख्नुभयो ।
उहाँले प्रदेशको राजधानीबाट सबैभन्दा टाढा र भौगोलिक रूपमा विकट मानिने उमाकुण्डको विकासका लागि बागमती प्रदेश सरकारले विशेष कार्यक्रम बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अलपत्र परेका योजना अघि बढाउन अन्य मन्त्रालयसँग पनि समन्वय गर्ने उहाँको भनाइ थियो ।
उमाकुण्डको यो घोषणा केवल स्वास्थ्य क्षेत्रको उपलब्धि मात्र होइन, कठिन भूगोलमा पनि इच्छाशक्ति र सामूहिक प्रयास भए परिवर्तन सम्भव छ भन्ने सन्देश पनि हो । पहाडका ती बस्तीहरू, जहाँ कहिलेकाहीँ स्वास्थ्यकर्मीहरू घण्टौँ हिँडेर पुग्थे, आज त्यही ठाउँबाट आशाको नयाँ कथा लेखिएको छ । एउटा बच्चाले समयमै खोप पाउनु भनेको केवल रोगबाट जोगिनु मात्र होइन, एउटा सुरक्षित भविष्यको सुनिश्चितता पनि हो ।













प्रतिक्रिया दिनुहोस्