जनता टाइम्स

५ जेष्ठ २०८३, मंगलवार २१:१९

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश


काठमाडौं, जेठ  ५ । पोखरा लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।

यसअघि उनलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले उक्त आदेश बदर गर्दै धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो ।सर्वोच्च प्रशासनले आदेश बदर भएको अनि धरौटी माग गर्ने आदेश भएको जानकारी वेबसाइटमार्फत गराएको छ । यद्यपि लिखित आदेश भने आउन बाँकी छ ।

विशेष अदालतले उनको दावीमा भन्दा मुद्दाका अरु प्रमाणहरु विश्वसनीय देखेर त्यसको विवेचना सहित १६ पुसमा तत्कालका लागि थुनामा पठाउने आदेश गरेको थियो ।पूर्वमन्त्रीहरु राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठमाथि कास्कीका प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीलाई कास्कीमै थमौती गर्न ५३ लाख रुपैंया घुस लिएको आरोप थियो ।भूमि आयोग कास्कीको अध्यक्षमा खम बहादुर पुनको नियुक्तिका लागि थप २५ लाख रुपैयाँ लेनदेनमा संलग्न भएको आरोपमा एकमुष्ट ७८ लाख रुपैयाँ बिगो मागदाबी अख्तियारले गरेको थियो । घुस दिएको आरोपमा सुजन लामामाथि पनि त्यति नै बिगो मागदावी सहित भ्रष्टाचार मुद्दा दायर भएको थियो ।