जनता टाइम्स

१ पुष २०७६, मंगलवार १९:५६

भारतीय प्याज रोकिएसँगै नेपाली बजारमा भित्रियो चाइनिज प्याज, प्रतिकिलो ५० प्रतिशतसम्मले सस्तो


काठमाडौं, पुस १ । भारतबाट आपूर्ति रोकिएसँगै नेपाली बजारमा प्याजको अभाव भएकोमा अहिले चिनियाँ बजारबाट आयात गर्न थालिएको छ । नेपाली बजारमा प्याज अभाव हुँदा मूल्य ह्वात्तै बढेको अवस्थामा त्यसलाई राहत दिनेगरी चीनबाट प्याज आयात गर्न थालिएको हो ।

भारतबाट आयात रोकिएसँगै अहिले बजारमा चिनियाँ प्याज भित्रिन थालिसकेको छ । कालिमाटी फलफूल तथा तरकारी बजारका अनुसार पछिल्लो समय दैनिक ४० देखि ४५ मेट्रिक टन चिनियाँ प्याजले नेपाल भित्रन थालेको छ । भारतीय प्याजको आयात रोकिएपछि व्यवसायीहरु चिनियाँ प्याजतर्फ आकर्षित भएको कालिमाटी फलफूल तथा तरकारी व्यापार संघले बताएको छ ।

यसरी आयात गर्न थालिएको चिनियाँ प्याज भारतीय प्याजको तुलनामा निकै सस्तो समेत रहेको व्यवसयीहरुले बताएका छन् । भारतीय प्याजको तुलनामा चिनियाँ प्याज झण्डै ५० प्रतिशतले नै सस्तो देखिएको छ । हाल कालिमाटी फलफूल तथा तरकारी बजारको थोक बजारमानै भारतीय प्याज प्रतिकेजी २१० देखि २५० रुपैयाँसम्म पर्ने गरेको छ । तर चिनियाँ प्याज भने ११० देखि १४० रुपैयाँ प्रतिकेजीमा नै उपलब्ध हुँने गरेको व्यवसायीले बताएका छन् ।

अहिले नेपालको कुल प्याजको मागको करिब ५० प्रतिशत मात्र चीनले पूर्ति गरिरहेको छ । झण्डै ९० देखि १०० मेट्रिक टन बराबरको प्याजको माग रहेकोमा चीनबाट तातोपानी र रसुवागढी नाका हुँदै दैनिक ४०–४५ मेट्रिकटन प्याज नेपाल भित्रिने गरेको छ । यता आन्तरिक उत्पादन समेत नहुँदा प्याजको अभाव भइरहेको छ र नेपालले अभावका बेला पनि भारतीय बजारकै मुख ताक्नु परिरहेको व्यवसायीहरुको गुनासो छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार गत वर्षमा नेपालले १४ अर्ब ४ करोडको बराबरको प्याज आयात गरेको थियो । यसै आर्थिक वर्षको पहिलो तीन महिनामा मात्र नेपालले ५ अर्ब १९ करोड रुपैयाको प्याज आयात गरिसकेको छ ।