जनता टाइम्स

१ असार २०८३, सोमबार ०८:५८

आज संघिय संसद्का दुवै सदनको बैठक  


काठमाडौं, असार १ । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ। सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने कार्यसूची तय गरिएको छ।

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८३ माथिको छलफल सुरु हुनेछ। सचिवालयका अनुसार विभिन्न मन्त्रालयका लागि विनियोजित बजेट शीर्षकमाथि समूहीकृत रूपमा छलफल गरिनेछ।

आजको कार्यसूचीअनुसार युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत विनियोजित बजेट शीर्षकमाथि सांसदहरूले आफ्नो धारणा राख्नेछन्।

त्यसैगरी, राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल हुने कार्यसूची रहेको छ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलका क्रममा सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिनुहुने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमाथिको संसदीय छलफल आजबाट थप सघन बन्ने अपेक्षा गरिएको छ। मन्त्रालयगत बजेट शीर्षकहरूमाथि सांसदहरूले आफ्ना सुझाव, आलोचना तथा प्राथमिकताहरू प्रस्तुत गर्नेछन् भने सरकारले त्यसबारे आफ्नो धारणा स्पष्ट पार्नेछ।