काठमाडौं, जेठ ३। प्रतिनिधि सभाको बैठक आज (बुधबार) पनि बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजेका लागि बोलाइएको हाे।
आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका बजेट शीर्षकमाथि छलफलका क्रममा सांसदहरूले उठाउनुभएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।
कार्यसूचीअनुसार युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न शीर्षकहरूमाथि भएको छलफलका क्रममा उठेका जिज्ञासा र प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले स्पष्टीकरणसहित जवाफ दिनुहुनेछ ।
त्यसैगरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतका विभिन्न शीर्षकहरूमाथि छलफलका क्रममा सांसदहरूले उठाउनुभएका प्रश्नहरूको पनि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची तय गरिएको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको विनियोजन विधेयकमाथि प्रतिनिधि सभामा मन्त्रालयगत रूपमा छलफल भइरहेको छ । उक्त छलफलका क्रममा सांसदहरूले उठाउनुभएका विषयमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिएपछि सम्बन्धित मन्त्रालयका बजेट शीर्षकहरू निर्णयार्थ प्रस्तुत गरिने संसदीय अभ्यास रहेको छ ।













प्रतिक्रिया दिनुहोस्