जनता टाइम्स

३ असार २०८३, बुधबार २०:३४

कागजमा ‘म अपहरणमा परेको छु’ लेखेर फालेपछि गंगबुको होटलबाट बालकको उद्धार


काठमाडौं, असार ३ ।  चितवनबाट अपहरण गरिएका १५ वर्षीय एक बालकलाई काठमाडौंको गंगबुस्थित होटलबाट सकुशल उद्धार गरिएको छ। घटनामा संलग्न रहेको आरोपमा पाँच भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार असार १ गते साँझ चितवनको नारायणगढबाट बालकलाई अपहरण गरी भारतीय नम्बर प्लेटको गाडीमा काठमाडौं ल्याइएको थियो। अपहरणकारीहरूले बालकलाई गंगबुको एक होटलमा बन्धक बनाएर परिवारसँग २२ लाख रुपैयाँ फिरौती मागेका थिए।

प्रहरीका अनुसार पक्राउ पर्नेहरू भारतको बिहार राज्यका १८ वर्षीय सुजित कुमार, गोलुकुमार सोनी, गोलु कुमार, बिक्कि कुमार र मोहम्मद साहिद रहेका छन्। उनीहरूले जेठ २९ गते भारतको बेतियामा अपहरणको योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

अनुसन्धानअनुसार अपहरणकारीहरू जेठ ३० गते नेपाल प्रवेश गरी चितवन पुगेका थिए। असार १ गते उनीहरूले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत बालकलाई सम्पर्क गरी विद्यालय नजिक बोलाएका थिए। त्यसपछि बालकलाई गाडीमा राखी एक होटलमा लगेर केही समय राखिएको र पछि धारिलो हतियार देखाउँदै धम्की दिई काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ।

घटनाको रोचक पक्ष भने बालकको साहसिक प्रयास रह्यो। बन्धक अवस्थामा रहेका बालकले आफू अपहरणमा परेको जानकारी कागजमा लेखेर आफ्नो नाम, बुबाको नाम र सम्पर्क नम्बरसमेत उल्लेख गरी होटल बाहिर फालिदिएका थिए।

उक्त कागज भेट्टाएका एक व्यक्तिले बालकका बुबालाई सम्पर्क गरेपछि घटनाबारे जानकारी भएको थियो। त्यसलगत्तै परिवारले प्रहरीलाई खबर गरेको र प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।

सूचनाका आधारमा गंगबुको होटलमा पुगेको प्रहरी टोलीले असार २ गते दिउँसो बालकको सकुशल उद्धार गर्नुका साथै अपहरणमा संलग्न पाँचै जनालाई पक्राउ गरेको हो।

प्रहरीले पक्राउ परेका आरोपीहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाएको जनाएको छ।