जनता टाइम्स

३ असार २०८३, बुधबार २०:३९

सरकारको शासन शैलीले लोकतान्त्रिक मूल्य–मान्यता कमजोर बनाएको पापडको आरोप


काठमाडौं, असार ३।  शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) ले वर्तमान सरकारको शासन सञ्चालन शैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै यसले राज्यका लोकतान्त्रिक मूल्य–मान्यता र संस्थागत संरचनालाई कमजोर बनाउँदै लगेको आरोप लगाएको छ।

पापडले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको कार्यान्वयन, लोकतान्त्रिक संस्थाको सुदृढीकरण, विधिको शासन तथा नागरिक अधिकारको संरक्षण राज्य सञ्चालनका आधारभूत मान्यता भए पनि वर्तमान शासन शैलीले ती सिद्धान्तहरूलाई क्रमशः कमजोर बनाएको जनाएको हो।

विज्ञप्तिमा लोकतन्त्र केवल निर्वाचनमार्फत बहुमत प्राप्त गरी शासन सञ्चालन गर्ने व्यवस्था मात्र नभई संविधानको सर्वोच्चता, शक्तिको सन्तुलित प्रयोग, संस्थागत उत्तरदायित्व, अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, पारदर्शिता, नागरिक स्वतन्त्रता र विधिको शासनमा आधारित प्रणाली भएको उल्लेख गरिएको छ। पापडले सरकारलाई यी लोकतान्त्रिक मापदण्डहरूको सम्मान गर्न आग्रह गरेको छ।

नेपाल चिकित्सक संघका अध्यक्ष बद्री रिजाल, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, नेपाल बार एसोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्र लगायत विभिन्न पेशागत संस्थाका नेतृत्वले हस्ताक्षर गरेको विज्ञप्तिमा सुकुम्बासी बस्ती हटाउने कार्य, न्यायपालिकाको स्वतन्त्रतामाथि हस्तक्षेप हुने अभ्यास, संसदको प्रभावकारी भूमिकालाई कमजोर बनाउने प्रवृत्ति तथा नागरिक अधिकार संकुचित गर्ने गतिविधिप्रति असहमति जनाइएको छ।

त्यस्तै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, सञ्चारमाध्यममाथिको आर्थिक दबाब, विश्वविद्यालयको स्वायत्तता तथा विभिन्न संघ–संस्थामाथिको नियन्त्रणमुखी व्यवहारप्रति पनि पापडले चिन्ता व्यक्त गरेको छ।

शिक्षा र स्वास्थ्य क्षेत्रका नीतिगत अस्पष्टता तथा सरकारी उदासीनताले आमनागरिकको जीविका, रोजगारी, व्यवसाय र सम्मानजनक जीवनयापनमा नकारात्मक असर पारेको विज्ञप्तिमा उल्लेख छ।

पापडले सरकारलाई मानवअधिकार, संविधानको मर्म, अन्तर्राष्ट्रिय कानुन तथा लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न आग्रह गर्दै लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि लोकतन्त्रवादी शक्ति, पेशागत संगठन, सञ्चार क्षेत्र, शैक्षिक समुदाय तथा नागरिक समाजलाई एकजुट हुन आह्वान गरेको छ।

साथै, नागरिक अधिकार तथा प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयासको विरोधमा नेपाल पत्रकार महासंघ ले असार ५ गते माइतीघर मण्डलामा आयोजना गर्ने विरोध प्रदर्शनमा ऐक्यबद्धता जनाउँदै सहभागी हुन समेत आग्रह गरेको छ।