जनता टाइम्स

३ असार २०८३, बुधबार २०:४६

जीबी राई कहाँ छन् ? सांसद आरेन राईको सरकारलाई प्रश्न


काठमाडौं, असार ३ ।  श्रम संस्कृति पार्टीका सांसद आरेन राई ले सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु (जीबी) राई को खोजीमा सरकारले पर्याप्त सक्रियता नदेखाएको आरोप लगाउनुभएको छ।

प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद राईले सहकारी ठगीको विषय कानुनी र न्यायिक प्रक्रियासँग सम्बन्धित भए पनि एक नेपाली नागरिकको अवस्थाबारे जानकारी लिनु राज्यको दायित्व भएको बताउनुभयो।

“जीबी राई सहकारी ठगीमा आरोपित व्यक्ति मात्रै होइनन्, उहाँ नेपाली नागरिक पनि हुनुहुन्छ। देशको एक नागरिक हराइरहेको अवस्थामा राज्यले उहाँ कहाँ हुनुहुन्छ भन्ने विषयमा चासो दिनुपर्छ,” उहाँले भन्नुभयो।

सांसद राईले जीबी राईसँग सम्बन्धित कानुनी विषय अदालतले टुंग्याउने भए पनि खोजी तथा अवस्थाबारे जानकारी जुटाउने काम सरकार र सम्बन्धित निकायको जिम्मेवारी भएको उल्लेख गर्नुभयो।

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लाई संकेत गर्दै विगतमा फरार व्यक्तिलाई “आकाशमा भए पनि, पातालमा भए पनि खोजेर ल्याउँछौँ” भन्ने अभिव्यक्ति दिइएको स्मरण गराउनुभयो।

“हिजो आकाशमा गए पनि पातालमा गए पनि ल्याउँछु भन्नेहरू आज मौन किन छन् ?” भन्दै उहाँले प्रश्न गर्नुभयो।

सांसद राईले जीबी राई पक्राउ परेमा अन्य व्यक्तिहरू पनि समस्यामा पर्ने आशंकाका कारण सरकारले पर्याप्त चासो नदिएको आरोपसमेत लगाउनुभयो।

सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जीबी राई हाल फरार रहेका छन्। उहाँविरुद्ध देशका विभिन्न जिल्लामा सहकारी ठगीसम्बन्धी मुद्दा दर्ता भई अनुसन्धान तथा कानुनी प्रक्रिया चलिरहेको छ।