जनता टाइम्स

४ असार २०८३, बिहीबार ०८:१८

मञ्जुरीविना जबर्जस्ती विवाह गराएको आरोपमा एक जना पक्राउ


सप्तरी, असार ४ । मञ्जुरीविना जबर्जस्ती विवाह गराएको आरोपमा सप्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका–९ निवासी मनोजकुमार ठाकुर रहेका छन्।

प्रहरीका अनुसार ठाकुरले २०८२ साउन ३१ गते सुरुङ्गा नगरपालिका–१० निवासी नागेन्द्र यादवको इच्छा तथा मञ्जुरीविपरीत सोही वडाकी २२ वर्षीया युवतीसँग जबर्जस्ती विवाह गराइदिएको आरोप छ। उक्त विवाह वडा नं. ९ स्थित केशव स्मारक जनता माध्यमिक विद्यालय टिकुलियाको परिसरमा रहेको सरस्वती मन्दिरमा सम्पन्न भएको बताइएको छ।

घटनापछि नागेन्द्र यादवले आफूलाई कुटपिट गरी जबर्जस्ती विवाह गराइएको भन्दै ठाकुरविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए।

जाहेरीका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले फरार रहेका ठाकुरलाई पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमराज घिमिरे का अनुसार पक्राउ परेका ठाकुरविरुद्ध सप्तरी जिल्ला अदालत, राजविराजबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ।