काठमाडौं, असार ४ । नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो हटाइएपछि अवरुद्ध यातायात सेवा पुनः सञ्चालनमा आएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति करिब ९ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो।
सडक सुपरभाइजर ईश्वर क्षेत्रीले पहिरो हटाउने कार्य सम्पन्न भएसँगै सडकमा दुईतर्फी रूपमा सवारीसाधन सञ्चालनमा आएको जानकारी दिनुभयो।
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला क्षेत्र पहिरो तथा ढुङ्गा खस्ने उच्च जोखिमयुक्त स्थानका रूपमा परिचित छ। वर्षायाममा यस क्षेत्रमा बारम्बार पहिरो खस्ने भएकाले यात्रु तथा सवारी चालकहरू जोखिम मोलेर यात्रा गर्न बाध्य हुने गरेका छन्।
सम्बन्धित निकायले उक्त सडकखण्ड भएर यात्रा गर्ने यात्रु तथा चालकलाई सतर्कता अपनाउन आग्रह गरेको छ।













प्रतिक्रिया दिनुहोस्