काठमाडौं, जेठ ४ । काठमाण्डौ महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०८३र८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।आज महानगरपालिकाको नगरसभाको १९औँ अधिवेशनमा कार्यवाहक मेयर सुनिता डङ्गोलले बजेट प्रस्तुत गर्नुभएको हो । महानगरको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सञ्चित कोषमा २५ अर्ब १३ करोड ३० लाख ५५ हजार र ७५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने उहाँले जानकारी दिनुभयो ।
आउँदो आर्थिक वर्षमा सञ्चित कोषमा २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ जम्मा हुने अनुमान गरेको कार्यवाहक मेयर डङ्गोलले बताउनुभयो । यसमध्ये महानगरको आन्तरिक आय र बैंक मौज्दातबाट २० अर्ब १८ करोड ६३ लाख २९ हजार रुपैयाँ स्रोत व्यवस्थापन हुने अनुमान छ । त्यस्तै सङ्घीय सरकार तथा प्रदेश सरकारबाट सशर्त, समानीकरण र राजस्व बाँडफाँटमार्फत ४ अर्ब ९३ करोड ६७ लाख २६ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरेको उहाँले बताउनु भयो । जनसहभागिताबाट १ करोड रुपैयाँ प्राप्त हुने अनुमान छ ।महानगरले आर्थिक विकास क्षेत्रमा कुल बजेटको २।१ प्रतिशत अर्थात् ५४ करोड १८ लाख २० हजार, सामाजिक विकास क्षेत्रमा ९।६ प्रतिशत अर्थात २ अर्ब ४२ करोड २७ लाख ३१ हजार, पूर्वाधार विकास क्षेत्रमा ६१ प्रतिशत अर्थात् १५ अर्ब ३१ करोड ६७ लाख ४८ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ८।५ प्रतिशत अर्थात् २ अर्ब १३ करोड ४७ लाख ९२ हजार तथा कार्यालय सञ्चालन र प्रशासनिक क्षेत्रमा १८.८ प्रतिशत अर्थात् ४ अर्ब ७१ करोड ६९ लाख ६४ हजार रुपैयाँ विनियोजन गरेको छ ।
महानगर क्षेत्रभित्रका पूर्वाधार योजनालाई उच्च प्राथमिकतामा राखेको कार्यवाहक मेयर डङ्गोलले बताउनुभयो । फोहोरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणाली सुधार, सुशासन प्रवर्द्धन, शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको क्षमता अभिवृद्धि तथा ‘एक वडा, एक नमूना उद्यमशीलता कार्यक्रम’ मार्फत रोजगारी र आय वृद्धि गर्ने कार्यक्रमलाई विशेष प्राथमिकता दिएको उहाँले जानकारी दिनुभयो ।प्रदूषण न्यूनीकरण, सार्वजनिक यातायात व्यवस्थापन, ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक महत्त्वका मठमन्दिर, बहाल, पोखरी, हिति, चोकलगायत सम्पदा संरक्षण तथा मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि बजेट व्यवस्था गरेको उहाँले बताउनुभयो ।युवा लक्षित स्वरोजगार तथा रोजगार कार्यक्रम सञ्चालनका लागि १० करोड रुपैयाँ विनियोजन भएको छ । नवयुवा सहकार्य तथा ‘लर्न ह्वाइल यु लर्न’ कार्यक्रम र जनयुद्ध तथा अमर प्रहरीहरूको नामावलीसहित स्मारक निर्माणका लागि बजेट व्यवस्थापन गरेको उहाँले जानकारी दिनुभयो ।
अपाङ्गता भएका व्यक्ति, अशक्त तथा उमेरका कारण हिँडडुल गर्न नसक्ने महानगरवासीलाई घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिने कार्यवाहक मेयर डङ्गोलले बताउनुभयो । महानगर पोषण भत्ता कार्यक्रमका लागि १६ करोड रुपैयाँ विनियोजन गरेको उहाँको भनाइ छ । बहालमा लिइएका तथा दिइएका घरजग्गाको विवरण दर्ता प्रक्रिया सरल बनाउने तथा एकीकृत करदाता परिचयपत्र कार्यक्रम सञ्चालनका लागि बजेट व्यवस्था गरिएको छ । करदातालाई शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने र मालपोत तथा नापी कार्यालयबाट प्राप्त हुँदै आएको भूमि व्यवस्थापन सेवा स्थानीय तहबाटै उपलब्ध गराउने व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो ।महानगरले सामूहिक आवास निर्माणको बहुवर्षीय योजनाअन्तर्गत पहिलो वर्षका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको छ भने सुकुम्वासी समस्या समाधानका लागि विशेष कार्यक्रम सञ्चालन गर्न वित्तीय प्रबन्ध गरेको डङ्गोलले बताउनुभयो । महानगर अस्पताल निर्माणको बहुवर्षीय योजनाअन्तर्गत पहिलो वर्षका लागि ४ करोड रुपैयाँ छुट्याइएको छ । टोलटोलमा योग अभ्यास कार्यक्रम सञ्चालन गरिने भएको छ । ज्येष्ठ नागरिकका लागि निमोनिया खोप कार्यक्रम सञ्चालन गर्न १ करोड रुपैयाँ विनियोजन गरेको र क्यान्सरजस्ता असाध्य रोगको निदानका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने महानगरले जनाएको छ ।
एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र स्थापना गर्न २ करोड रुपैयाँ विनियोजन गरेको कार्यवाहक मेयर डङ्गोलले जानकारी दिनुभयो । यस्तै सुनिकपा विश्वविद्यालय स्थापना गर्न आवश्यक कानूनी तथा व्यवस्थापकीय कार्य प्रारम्भ गर्न ५० लाख रुपैयाँ छुट्याइएको छ । महानगर क्षेत्रभित्रका निजी तथा सार्वजनिक भौतिक संरचनाको बीमा प्रवर्द्धन कार्यक्रम, नगर–नगर साझेदारी कार्यक्रम, रात्रिकालीन यातायात सेवा, पिउने पानीका लागि वाटर एटीएम तथा सार्वजनिक शौचालय व्यवस्थापनका लागि समेत बजेट व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । पशु बधशाला निर्माण तथा एग्रो पुलिङ कार्यक्रमका लागि बजेट छुट्याइएको छ ।
काठमाण्डौमा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल आयोजना गरिने भएको छ । बागमती प्रदेश सरकारसँग समन्वय गरी काठमाण्डौलाई सांस्कृतिक शहर घोषणा गर्ने तयारीका लागि आवश्यक व्यवस्था गरेको डङ्गोलको भनाइ छ । महानगरले विपद् व्यवस्थापनलाई थप प्रभावकारी र स्रोतसाधन सम्पन्न बनाउन बजेट विनियोजन गरेको छ । मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३ र बढ्दो तापक्रमको प्रभाव न्यूनीकरण कार्यक्रम कार्यान्वयनका लागि पनि बजेट छुट्याइएको छ । नदी किनार तथा सार्वजनिक जग्गा संरक्षण, पार्क निर्माण तथा चराचुरुङ्गीका लागि पानी पात्र निर्माण गर्ने महानगरले जनाएको छ । ‘प्लास्टिक झोलामुक्त काठमाण्डौ’ अभियानअन्तर्गत वैकल्पिक झोला अभियान सञ्चालनका लागि पनि रकम विनियोजन गरिएको छ ।
महानगरले आउँदा आर्थिक वर्षमा वातावरण व्यवस्थापनका लागि १ अर्ब २२ करोड, शिक्षा क्षेत्रमा १ अर्ब ७१ करोड, सम्पदा संरक्षणका लागि २ अर्ब ५३ करोड, सामाजिक विकासमा ४९ करोड , पूर्वाधार विकासमा ५ अर्ब ४१ करोड, हरियाली प्रवर्द्धनमा ४३ करोड, सूचना प्रविधिमा ४१ करोड, स्वास्थ्य सेवामा ७० करोड रुपैयाँ र विपद् व्यवस्थापनमा ३६ करोड रुपैयाँ विनियोजन गरेको छ ।













प्रतिक्रिया दिनुहोस्