काठमाडौं, असार ५ । नेपालमा यस वर्षको मनसुन शुक्रबार साँझ औपचारिक रूपमा प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा सामान्यतया जुन १३ मा मनसुन भित्रिने भए पनि यसपटक ६ दिन ढिलो गरी मनसुन प्रवेश गरेको हो।
मौसमविद्हरूका अनुसार प्रशान्त महासागरमा विकसित भएको एलनिनो प्रणालीका कारण मनसुन आगमनमा ढिलाइ भएको हो। विभागले यसअघि नै जुन २० आसपास मनसुन नेपाल प्रवेश गर्ने संकेत गरेको थियो। एलनिनोका कारण पूर्वबाट बहने हावा कमजोर हुँदा मनसुन प्रणालीको गति प्रभावित भएको मौसमविद् अशोक बर्खेलले बताउनुभयो।
एलनिनो प्रशान्त महासागरमा समुद्री सतहको तापक्रम असामान्य रूपमा बढ्ने जलवायु प्रणाली हो, जसले विश्वव्यापी मौसम चक्रमा प्रभाव पार्ने गर्छ। मौसमविद् डेबिड ढकालका अनुसार विश्व मौसम सङ्गठनले समेत यस वर्ष एलनिनोको प्रभाव रहने अनुमान सार्वजनिक गरिसकेको छ, जसका आधारमा नेपालले पनि मौसमी पूर्वानुमान तयार गरेको हो।
विभागले यस वर्षको मनसुन अवधिमा देशभर सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको जनाएको छ। विशेषगरी कर्णाली प्रदेशका दक्षिणी क्षेत्र, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेश प्रदेशको पूर्वी भाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६६ प्रतिशतसम्म रहेको छ। यस्तै सुदूरपश्चिम, गण्डकी, बागमती तथा अन्य केही क्षेत्रहरूमा पनि औसतभन्दा कम वर्षा हुने सम्भावना देखिएको छ।
सामान्यतया मनसुन अवधिमा नेपालभर करिब १ हजार ३८२ मिलिमिटर वर्षा हुने भए पनि यस वर्ष त्यसको ९० प्रतिशतभन्दा कम वर्षा हुन सक्ने अनुमान गरिएको छ। कम वर्षाका कारण कृषि उत्पादन, जलस्रोत तथा खानेपानी व्यवस्थापनमा असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
विगतमा पनि एलनिनो प्रभावका कारण मनसुन आगमन ढिलो भएको तथ्यांक विभागसँग रहेको छ। सन् २००९ मा जुन २३, २०१९ मा जुन २० र २०२३ मा जुन १४ मा मनसुन नेपाल प्रवेश गरेको थियो। मौसमविद्हरूका अनुसार एलनिनो सक्रिय भएका वर्षहरूमा मनसुन ढिलो भित्रिने प्रवृत्ति देखिएको छ।
विभागले मौसम पूर्वानुमानलाई नियमित रूपमा अद्यावधिक गर्दै आएको जनाएको छ। मौसमविद्हरूका अनुसार मौसम प्रणाली निरन्तर परिवर्तनशील हुने भएकाले पूर्वानुमानमा समयअनुसार केही फरक पर्न सक्ने भए पनि सम्भव भएसम्म सटिक सूचना प्रदान गर्न १२–१२ घण्टामा अद्यावधिक गरिने गरिएको छ।













प्रतिक्रिया दिनुहोस्