जनता टाइम्स

६ असार २०८३, शनिबार ०९:०२

काठमाडौँ उपत्यकामा आज मध्यम वर्षाको सम्भावना, पश्चिमी र पूर्वी वायुको प्रभाव


काठमाडौं, असार ६ । काठमाडौँ उपत्यकामा आज (शनिबार) हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। पश्चिमी वायु र पूर्वी अर्थात् मनसुनी वायुको आंशिक प्रभावका कारण उपत्यकाको मौसम बदली रहने र दिउँसोपछि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार बिहानदेखि नै काठमाडौँको आकाश बादलले ढाकिएको छ। तत्काल वर्षाको सम्भावना कम भए पनि वर्षा भए हल्का खालको हुने र मध्याह्नपछि भने मध्यम वर्षा हुन सक्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार केही समयका लागि घाम लाग्ने सम्भावना रहे पनि दिउँसोपछि फेरि बादल बाक्लिने र वर्षाको गतिविधि बढ्न सक्ने देखिएको छ। हाल उपत्यकामा पश्चिमी वायुको प्रभाव बढी रहेको छ भने पूर्वी वायुको पनि प्रभाव देखिएको छ।

मौसमविद् ढकालले पूर्वी वायु मनसुनी प्रणालीसँग सम्बन्धित भए पनि काठमाडौँ उपत्यकामा अझै मनसुन औपचारिक रूपमा प्रवेश नगरेको स्पष्ट पारे। उनका अनुसार गण्डकी प्रदेशसम्म पूर्वी वायुको प्रभाव देखिए पनि मनसुन घोषणा गर्न आवश्यक मापदण्ड भने अझै पूरा भएको छैन।

यसैबीच, कोसी प्रदेशका केही स्थानमा असार ५ गते मनसुन प्रवेश गरिसकेको छ। यस वर्ष नेपालमा मनसुन सरदर मिति जुन १३ भन्दा ६ दिन ढिलो गरी जुन १९ मा भित्रिएको हो। मौसमविद्हरूका अनुसार अब मनसुन पूर्वी क्षेत्रबाट क्रमशः पश्चिमतर्फ फैलिँदै देशभर सक्रिय हुन केही दिन लाग्नेछ।