जनता टाइम्स

१२ असार २०८३, शुक्रबार २०:५६

नयाँ नेतृत्व र नीति तय गर्दै सम्पन्न भयो रास्वपाको पहिलो महाधिवेशन


काठमाडौं, असार १२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन नयाँ नेतृत्व र नीति तय गर्दै सम्पन्न भएको छ । चितवनको भरतपुरमा गत आइतबारदेखि सुरु भएको महाधिवेशन शुक्रबार पदाधिकारी चयनसँगै सम्पन्न भएको हो ।

महाधिवेशनबाट रास्वपाको सभापतिमा रवि लामिछाने र उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित हुनुभएको छ । महिला उपसभापतिमा सोविता गौतम प्रतिस्पर्धाबाट निर्वाचित हुनुभएको हो । शुक्रबार भएको दोस्रो चरणको पदाधिकारी निर्वाचनमा उहाँले डा. तोसिमा कार्कीलाई पराजित गर्नुभएको हो ।

त्यस्तै महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ । महामन्त्री पदमा मनिष झा, सागर ढकाल र गणेश कार्कीले पनि प्रतिस्पर्धा गर्नुभएको थियो । सहमहामन्त्री (खुला) तर्फ हरि ढकाल र असिम शाह निर्वाचित हुनुभएको छ भने सहमहामन्त्री (महिला) मा निशा डाँगी निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित पदाधिकारीहरूको शुक्रबार नै शपथग्रहण सम्पन्न भएको छ । यसअघि महाधिवेशनको पहिलो चरणमा ९९ जना केन्द्रीय सदस्य निर्वाचित भइसकेका थिए ।

अब सभापति रवि लामिछानेले वरिष्ठ नेता १, उपसभापति १, महामन्त्री १, प्रवक्ता १, सहप्रवक्ता ३, कोषाध्यक्ष १ र सहकोषाध्यक्ष २ गरी १२ जना पदाधिकारी मनोनयन गर्नुहुनेछ । साथै ५१ जना केन्द्रीय सदस्य पनि सभापतिले मनोनयन गर्नुहुनेछ ।

रास्वपाको विधानअनुसार १५१ सदस्यीय केन्द्रीय समिति रहनेछ । त्यसबाहेक सातै प्रदेशका सभापति पदेन सदस्य रहने भएकाले केन्द्रीय समितिको संख्या १८५ पुग्नेछ ।

पार्टी स्थापना भएको चार वर्षपछि पहिलो महाधिवेशन सम्पन्न गर्दै रास्वपाले नयाँ नेतृत्व र नीति तय गर्नुका साथै संस्थागत राजनीतिक वैधानिकता पनि प्राप्त गरेको छ ।

छोटो अवधिमै उल्लेखनीय जनसमर्थन हासिल गरेको रास्वपाका लागि अब लोकतान्त्रिक मूल्य, मान्यता र विधिपद्धतिअनुसार पार्टी सञ्चालन गर्नु मुख्य चुनौतीका रूपमा देखिएको छ । अरूलाई खबरदारी गर्दै आएको पार्टी अब जनअपेक्षा पूरा गर्ने जिम्मेवारीमा पुगेको छ ।

महाधिवेशनका क्रममा छिटपुट विवाद तथा केही विषयमा अलोकतान्त्रिक व्यवहार भएको भन्दै केही प्रतिनिधिले असन्तुष्टि जनाए पनि महाधिवेशनले पार्टीलाई संस्थागत रूपमा थप मजबुत बनाएको छ ।

यद्यपि, पहिलो महाधिवेशनमै पुराना दलहरूमा जस्तै गुट–उपगुटका संकेत पनि देखिएका छन् । उद्घाटन सत्रमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले पार्टीभित्र गुट–उपगुट नहुने बताउनुभएको थियो । तर केन्द्रीय सदस्य र पदाधिकारी निर्वाचनसम्म आइपुग्दा विभिन्न समूहबीच ध्रुवीकरण देखिएको थियो ।

शपथग्रहणपछि सभापति रवि लामिछानेले पार्टीभित्र गुट–उपगुट रहेको स्वीकार गर्दै त्यसलाई अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘गुट–उपगुट रहेछन् भने पनि अब जरैदेखि उखेल्न लागिपर्छु । अब पार्टी परिपक्व र प्रतिबद्ध भएर अघि बढ्नेछ,’ उहाँले भन्नुभयो ।

उहाँले नयाँ नेतृत्व चयनका लागि सहमति जुटाउने प्रयास सफल हुन नसकेको स्वीकार गर्दै निर्वाचनको प्रतिस्पर्धा सकिएपछि सबै एकताबद्ध भएर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

‘अब यो हलबाट निस्केपछि जसरी हामी प्रतिस्पर्धामा उत्रिएका थियौँ, अब निकै उच्च सौहार्दताका साथ अघि बढ्नेछौँ । जसले जित्यो, त्यो सिंगो घण्टीले जित्यो,’ सभापति लामिछानेले भन्नुभयो।