जनता टाइम्स

१३ असार २०८३, शनिबार ०९:०६

सानो देश केप भर्डेको ठूलो चमत्कार


काठमाडौं, असार १३ । फिफा विश्वकप २०२६ मा समूह चरणको अन्तिम तथा निर्णायक खेलमा साउदी अरबसँग गोलरहित बराबरी खेल्दै केप भर्डेले आफ्नो पहिलो विश्वकप सहभागितामै अन्तिम ३२ (नकआउट चरण) मा पुगेर इतिहास रचेको छ।

‘ब्लु शार्क्स’ को उपनामले चिनिने केप भर्डे समूह ‘एच’ मा दोस्रो स्थानमा रहदै नकआउट चरणमा पग्न सफल भएको हो । तीन अंक जोडेको केप भर्डेले आफूभन्दा धेरै बलिया टोलीहरू-दुई पटकको विश्वविजेता उरुग्वे र सन् २०३४ को विश्वकप आयोजक साउदी अरबलाई पछि पारेको छ। अब प्रशिक्षक बुबिस्टाको यो टोलीले ३ जुलाईमा मियामी स्टेडियममा साविक विजेता अर्जेन्टिनाको सामना गर्नेछ।

शनिवार बिहान भएको खेलमा पुरै अवधिभर केप भर्डे गोलको निकै नजिक पुगेको थियो। विली सेमेडोको प्रहार साउदीका गोलकिपरले बचाएका थिए भने उनको अर्को प्रहार पोस्टभन्दा थोरै बाहिरिएको थियो। खेलको ३० औँ मिनेटमा साउदीका डिफेन्डर हसन अल ताम्बाक्टी एक्कासि मैदानमा ढलेपछि उनलाई स्टेचरमा राखेर बाहिर लगिएको थियो।

दोस्रो हाफमा पनि केप भर्डेले दबाब कायम राख्यो। केभिन पिनाको डिब्बा बाहिरको उत्कृष्ट प्रहार टप कर्नरबाट थोरैले बाहिरियो। खेल सकिन १५ मिनेट बाँकी छँदा लारास डुआर्टेले गोल गर्ने सुनौलो अवसर पाएका थिए, तर साउदीका गोलकिपर मोहम्मद अल ओवाइसले उत्कृष्ट बचाउ गर्दै खेल बराबरीमै रोके।

यो बराबरीसँगै केप भर्डे विश्वकपको आफ्नो पहिलो सहभागितामै अपराजित रहँदै दोस्रो चरण पुग्ने तेस्रो अफ्रिकी राष्ट्र बनेको छ। खेल सकिने बित्तिकै केप भर्डेका खेलाडीहरू मैदानमै मोबाइल फोन वरिपरि झुम्मिएका थिए। उनीहरू समूहको अर्को खेल (उरुग्वे विरुद्ध स्पेन) को नतिजा पर्खिरहेका थिए। जब उनीहरू अर्को चरणमा पुगेको पक्का भयो, मैदानमा खुसीयालीको माहोल छाएको थियो ।

फिफा वरीयतामा ६७ औँ स्थानमा रहेको र मात्र ५ लाख २५ हजार जनसंख्या भएको केप भर्डेले यस विश्वकपमा स्पेन र उरुग्वे जस्ता पूर्व विजेताहरूसँग बराबरी खेल्दै सबैलाई चकित पारेको छ।सन् २००६ मा घानाले डेब्युमै दोस्रो चरण पुगेर बनाएको कीर्तिमान पछि केप भर्डे यो उपलब्धि हासिल गर्ने पहिलो अफ्रिकी टोली बनेको छ। अब केप भर्डेले लियोनेल मेसीको टोली अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।