काठमाडौं, असार १३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पतन हुने दाबी गर्दै त्यसपछिको बलियो राजनीतिक विकल्पका रूपमा राप्रपाले आफूलाई स्थापित गर्नुपर्ने बताउनुभएको छ।
शनिबार काठमाडौंमा आयोजित अगुवा नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले रास्वपाको पतनको प्रतीक्षा गरेर मात्र राप्रपाको उदय नहुने उल्लेख गर्दै पार्टीको संगठन, कार्यशैली र सोचमा आमूल परिवर्तन आवश्यक रहेको बताउनुभयो।
उहाँले राप्रपा फेरिएको र सुध्रिएको सन्देश जनतामाझ पुर्याउन संगठन संरचना, कार्यशैली र गतिविधिमा व्यापक सुधार गर्नुपर्ने धारणा राख्नुभयो।
जनताले राप्रपालाई ठूलो मत नदिए पनि देशमा राजनीतिक विकल्प आवश्यक पर्ने विश्वासका साथ राष्ट्रिय पार्टीका रूपमा कायम राखेको उल्लेख गर्दै उहाँले अब त्यस विश्वासलाई परिणाममा रूपान्तरण गर्नुपर्ने बताउनुभयो।
अध्यक्ष लिङ्देनले पार्टीभित्र एकता, आपसी विश्वास र अनुशासन कायम गर्नुपर्नेमा जोड दिँदै गुट–उपगुटको राजनीतिले पार्टीलाई कमजोर बनाएको बताउनुभयो। उहाँले नेता–कार्यकर्तालाई कुनै व्यक्तिको पछि लाग्ने होइन, जनताको साथ लिएर पार्टीलाई बलियो बनाउन आग्रह गर्नुभयो।
उहाँले राप्रपाभित्र विवाद र विभाजनको राजनीति अन्त्य गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
यसैबीच, अध्यक्ष लिङ्देनले पार्टीका नेता–कार्यकर्तालाई आगामी महाधिवेशनको तयारीमा जुट्न निर्देशन पनि दिनुभयो। राप्रपाले आगामी मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने तय गरेको छ। उहाँले निर्धारित कार्यतालिकाअनुसार तल्लो तहका अधिवेशन समयमै सम्पन्न गर्न पनि आग्रह गर्नुभयो।













प्रतिक्रिया दिनुहोस्