जनता टाइम्स

१३ असार २०८३, शनिबार १७:१९

माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौँ दिनमा चल्दै


काठमाडौं, असार  १३ । काठमाण्डौको माईतीघर मण्डलामा दृष्टिबिहीनहरूको आन्दोलन आज छैटौं दिनमा पनि जारी छ । आफ्ना मागहरूप्रति सरकारको ध्यानाकर्षण गराउन सडकमा उत्रिएका प्रदर्शनकारीहरूले राज्यको मौनताप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन् ।

धर्नामा सहभागी दृष्टिबिहीन सूर्य लिम्बूले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनका कारण सरकारले आफूहरूको आवाज सुन्न नसकेको हुनसक्ने बताउनुभयो । आउँदो दिनमा सरकारले माग सम्बोधन गर्ने आशा राखेको उहाँले जानकारी दिनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका दृष्टिबिहीन सांसद रमेश प्रसाईंले भने बाहिरी जिल्लाका साधारण घटनामा चासो राख्नेहरूले राजधानीको मुटुमा भइरहेको यो न्यायोचित आन्दोलनलाई नजरअन्दाज गरेको भन्दै तीव्र आपत्ति जनाउनुभयो ।

प्रदर्शनरत दृष्टिबिहीनहरूले सरकारले चाँडो वार्ताको वातावरण सिर्जना गरी आफ्ना माग पूरा गरोस् भनी प्रतीक्षारत रहेको बताएका छन् । माग सम्बोधन नभएसम्म धर्ना जारी राख्ने उनीहरूको चेतावनी छ ।

सरकारले रोजगारीको व्यवस्था गर्नुपर्ने, अपांगता भएकाहरुको उचित व्यवस्थापन गर्नुपर्ने वा मन्दिर, सडकमा साङ्गीतिक कार्यक्रम गर्न पाउनुपर्ने माग गरी उनीहरु आन्दोलन गर्दै आएका छन् ।