जनता टाइम्स

१३ असार २०८३, शनिबार १७:३१

‘जेनजी’ आन्दोलनको प्रतिवेदन उपलब्ध गराउन मानव अधिकार आयोगसँग ओलीको माग


काठमाडौं,  असार १३ ।  नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन उपलब्ध गराउन माग गर्नुभएको छ।

शुक्रबार आयोगको कार्यालय पुगेर एमाले नेता महेश बर्तौलाले अध्यक्ष ओलीका तर्फबाट औपचारिक निवेदन दर्ता गराउँदै प्रतिवेदन, त्यससम्बन्धी निर्णय तथा छानबिनसँग सम्बन्धित सम्पूर्ण कागजात उपलब्ध गराउन आग्रह गर्नुभएको हो।

बर्तौलाले आयोगका सचिव मुरारी खरेललाई भेटेर निवेदन बुझाएको जानकारी दिनुभएको छ। उहाँका अनुसार २०८२ भदौ २३ र २४ गते भएका ‘जेनजी’ आन्दोलनका घटनाबारे आयोगले गरेको भनिएको छानबिन तथा अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको हो।

निवेदनमा अध्यक्ष ओलीले आयोगको प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै तत्कालीन प्रधानमन्त्रीका रूपमा आफूले गरेका काम–कारबाही कानुनविपरीत नभएको निष्कर्ष निकालिएको भए पनि आफू संलग्न नरहेको विषयमा कारबाही सिफारिस गरिएको भन्ने निर्णयप्रति विश्वास गर्न नसकेको उल्लेख गर्नुभएको छ।

उहाँले संविधान र कानुनअनुसार कारबाही गर्न नमिल्ने व्यक्तिविरुद्ध पश्चात्दर्शी कानुनको आधारमा कारबाही सिफारिस गरिएको भन्ने विषय स्पष्ट हुनुपर्ने धारणा पनि राख्नुभएको छ।

उल्लेखित ‘जेनजी’ आन्दोलन २०८२ भदौ २३ र २४ गते भएको थियो। त्यसबेला अध्यक्ष ओली प्रधानमन्त्री रहनुभएको थियो।