जनता टाइम्स

१३ असार २०८३, शनिबार १८:१६

भीरबाट खस्यो स्वर्गद्वारीका उपमेयरले चलाएको गाडी


प्यूठान, असार १३ । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर दुर्घटनामा परेका छन्।

५० वर्षीय उपमेयर मिनराज राना मगरले आफैले चलाएको गाडी झन्डै ३०० मिटर भन्दा मुनि पुगेर रूखमा अड्किएको अवस्थामा फेला परेको जानकारी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गणेश ज्ञवालीले बताउनु भएको छ ।

शनिबार बेलुकी पौने ५ बजेतिर उपमेयर मगरले चलाएको लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारी –२ बाङ्गेशालमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

उपमेयर मगर स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको र उहाँ गाडीमा एक्लै रहेको खुलेको छ। घटनास्थलतर्फ प्रहरी पुगिरहेको हुँदा उपमेयरको अवस्थाबारे सूचना प्राप्त भइनसकेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उपमेयर मगर गाडीसँगै तल रहेको खुलेको छ। निकाल्ने प्रयास भइरहेको पनि प्रहरीले जनाएको छ।

घटना स्थालमा अस्थायी प्रहरी पोष्ट खालबाट प्रहरी सहायक निरीक्षक कृष्णबहादुर केसी नेतृत्वको टोली र इलाका प्रहरी कार्यालय भृङ्ग्रीबाट प्रहरी निरीक्षक सुजनबाबु विश्वकर्मा नेतृत्वको टोली खटिएको छ।