जनता टाइम्स

१४ असार २०८३, आईतवार ०७:१५

एक सातापछि आज बस्दै प्रतिनिधिसभा बैठक, १२ वटा कार्यसूची तय


काठमाडौं,  असार १४ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशनको २८औँ बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ।

संसद् सचिवालयका अनुसार लगातार तीन पटक स्थगित भएको बैठक आज सञ्चालन हुन लागेको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन लम्बिएपछि मन्त्री तथा रास्वपा सांसदहरू महाधिवेशनमा व्यस्त भएकाले प्रतिनिधिसभा बैठक पटक–पटक स्थगित गरिएको थियो।

सभामुख डोलप्रसाद अर्यालको निर्देशनमा संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले शुक्रबार सूचना जारी गर्दै बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिनुभएको थियो।

आजको बैठकका लागि संसद् सचिवालयले १२ वटा सम्भावित कार्यसूची तय गरेको छ। बैठकको प्रारम्भमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुनेछ।

त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले महालेखा परीक्षकको त्रिसट्ठीऔँ वार्षिक प्रतिवेदन, २०८३ सदनमा पेस गर्नुहुने कार्यसूची छ।

आजको बैठकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, २०८३ प्रस्तुत गरिने कार्यसूची रहेको छ।

यस्तै, आर्थिक विधेयक, २०८३ माथि प्राप्त संशोधनमाथि छलफल गरी निर्णयार्थ प्रस्तुत गरिनेछ भने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुहुनेछ।

त्यसैगरी, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको दफावार छलफल र निर्णय प्रक्रिया पूरा गरी आजै पारित गर्ने कार्यसूची पनि रहेको छ।

बैठकको अन्त्यमा प्रतिनिधिसभाका पूर्वसदस्य राजेन्द्र खरेलको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ।