काठमाडौं, असार १५ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आफूले पार्टी विभाजन गरेर नयाँ दल गठन गर्न लागेको भन्ने निराधार हल्ला र कुप्रचार गरिएको भन्दै आक्रोश पोख्नुभएको छ ।
सोमबार काठमाडौंमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै खनालले आफू जीवनभर गुटबन्दीको विरोध गर्दै आएको व्यक्ति भएको भन्दै पार्टी फुटाउने वा नयाँ पार्टी खोल्ने कुनै योजना नरहेको स्पष्ट पार्नुभयो ।
‘केही मान्छेहरूले झलनाथले अर्को पार्टी खोल्न थालेछ, पार्टी फुटाउन लागेछ भनेर कुप्रचार गरेछन् । म ती कुप्रचारकहरूलाई फेरि एकपटक भन्न चाहन्छु, साथिहरू कुप्रचारको खेल कसैले पनि नखेल्नुहोस् । झलनाथ खनाल कहिल्यै एउटा गुट पनि नबनाएको मान्छे हो । गुट बनाउने कुरा पनि गलत हो भन्दै आएको मान्छे हो । तर यतिबेला हामीले वैज्ञानिक समाजवादको विचार निर्माण नगरिहुने भएन,’ खनालले भन्नुभयो ।
उहाँले भ्रम र कुप्रचारको राजनीति नगर्न आग्रहसमेत गर्नुभएको छ । नेता खनालले अहिलेको लोकतान्त्रिक व्यवस्थाको अधिकतम उपयोग गर्दै समाजवादी लोकतन्त्र स्थापनाका लागि समाजवादी क्रान्ति र समाजवादी रूपान्तरण आवश्यक रहेको धारणासमेत राख्नुभयो ।
आन्दोलनभित्र देखिएका विकृति, असमझदारी र विचलनलाई वैचारिक बहसमार्फत समाधान गर्नुपर्ने आवश्यकता रहेको भन्दै खनालले ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ पुस्तक लेखेको जानकारी दिनुभयो । उहाँले वैज्ञानिक समाजवादको स्पष्ट वैचारिक आधार निर्माण गर्नु अहिलेको आवश्यकता रहेको पनि बताए।













प्रतिक्रिया दिनुहोस्