काठमाडौं, १५ असार । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूको अभिमुखीकरण कार्यक्रममा न्यून उपस्थितिप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ।
संघीय संसद सचिवालयले सांसदहरूका लागि आयोजना गरेको दुईदिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले अपेक्षाअनुसार सांसदहरूको उपस्थिति नभएको भन्दै अनुशासन, समयपालन र जिम्मेवारीप्रति गम्भीर बन्न आग्रह गर्नुभयो।
“आजको उपस्थिति मलाई पूर्ण रूपमा चित्तबुझ्दो लागेको छैन। हामीले बिहान १० बजेदेखि नै सबै सांसदको उपस्थिति हुने अपेक्षा गरेका थियौँ। हामी लाखौँ जनताको मतबाट निर्वाचित प्रतिनिधि हौँ। त्यसैले हाम्रो व्यवहार, समयपालन र अनुशासनलाई जनताले निरन्तर मूल्याङ्कन गरिरहेका हुन्छन्,” उहाँले भन्नुभयो।
सभामुख अर्यालले आवश्यक अवस्थामा सत्य कुरा बोल्न नडराउन पनि सांसदहरूलाई आग्रह गर्नुभयो। सबैलाई खुसी पार्ने उद्देश्यले सत्य कुरा लुकाउँदा समाज गलत दिशातर्फ जान सक्ने उहाँको भनाइ थियो।
उहाँले सांसदहरूको मूल्याङ्कन संसद सचिवालय, प्रधानमन्त्री वा राजनीतिक दलको नेतृत्वले मात्र नभई आम जनताले गर्ने भएकाले आफ्नो जिम्मेवारीप्रति सजग रहनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमको सूचना धेरैअघि नै सार्वजनिक गरिएकाले अब अभिमुखीकरणमा पूर्ण ध्यान दिएर सहभागी हुन उहाँले आग्रह गर्नुभयो। अनावश्यक कुराकानी र मोबाइलमा समय बिताउनुभन्दा नयाँ विषय सिक्ने अवसरका रूपमा कार्यक्रमलाई उपयोग गर्नुपर्ने उहाँको भनाइ थियो।
संघीय संसद सचिवालयले सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवनमा सांसदहरूका लागि आयोजना गरेको दुईदिने अभिमुखीकरण कार्यक्रम सोमबारदेखि सुरु भएको हो। कार्यक्रम मंगलबार पनि सञ्चालन हुनेछ।













प्रतिक्रिया दिनुहोस्